काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणनामा प्रारम्भिक नतिजामा चन्द्र भण्डारी र प्रदिप पौडेल अगाडी रहेका छन् ।
५० मतगणना गर्दा केन्द्रीय उपसभापति (खुला) तर्फ डा. चन्द्रकान्त भण्डारी र समावेशीतर्फ विनोदकुमार चौधरीले अग्रता लिएका छन् ।
मतगणना साँझ ७ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपाका तीनवटा स्थानमा भइरहेको छ । निर्वाचन समिति सदस्य सचिव राजु कटुवालका अनुसार मतगणनालाई व्यवस्थित रूपमा अघि बढाइएको छ ।
प्रारम्भिक गणनाअनुसार उपसभापति (खुला) तर्फ डा. चन्द्रकान्त भण्डारीले २६ मत प्राप्त गरेका छन् । गोविन्द भट्टराई र सुरेन्द्रराज पाण्डेले समान १६–१६ मत पाएका छन् भने मधु आचार्यले १३, धनराज गुरुङले ११, दीपक गिरीले ७ तथा डा. चन्द्रमोहन यादवले ४ मत प्राप्त गरेका छन् । त्यस्तै उपसभापति (समावेशी) तर्फ विनोदकुमार चौधरीले १७ मतसहित अग्रता लिएका छन् । सीता गुरुङले ११, जीवन परियारले १०, फरमुल्लाह मंसुरले ६ र रञ्जित कर्णले १ मत प्राप्त गरेका छन् ।
महामन्त्री (खुला) तर्फको प्रारम्भिक मतगणनामा प्रदीप पौडेलले सबैभन्दा बढी ३३ मत प्राप्त गरेका छन् । अमरसिंह पुन मगरले २१ मत पाउँदा उदयशमशेर राणाले १२ मत प्राप्त गरेका छन् । त्यस्तै, गुरुराज घिमिरेले ८, डा. सुनिलकुमार शर्माले १३, डा. सन्तोष उपाध्यायले ५, नैनसिंह महरले ४ र शंकर तिवारीले २ मत प्राप्त गरेका छन् । महामन्त्री (महिला) तर्फ महालक्ष्मी उपाध्याय (डिना) ले २२ मत प्राप्त गरेकी छन् भने डा. डिला संग्रौला (पन्त) ले २१ र रीता खनालले ६ मत पाएकी छन् ।









