काठमाडौं । बलिउड अभिनेत्री कियारा आडवाणी र अभिनेता सिद्धार्थ मल्होत्राले आफूहरू दोस्रोपटक अभिभावक बन्न लागेको घोषणा गरेका छन् ।
दुवैले बुधबार सामाजिक सञ्जालमार्फत आफुहरु दोस्रो पटक अभिभावक बन्न लागेको जानकारी दिएका हुन् । उनीहरूले पोस्टमार्फत भनेका छन्- 'फेरि एकपटक हामी जीवनकै सबैभन्दा ठूलो उपहार पाउन लागेका छौँ । हाम्रो मन प्रेम र कृतज्ञताले भरिएको छ ।'
कियारा र सिद्धार्थले ७ फेब्रुअरी २०२३ मा राजस्थानको जैसलमेरस्थित सूर्यगढ प्यालेसमा विवाह गरेका थिए । उनीहरूको प्रेम सम्बन्ध फिल्म ‘शेरशाह’ मा सँगै काम गर्ने क्रममा चर्चामा आएको थियो । विवाहको करिब दुई वर्षपछि जुलाई २०२५ मा उनीहरू पहिलोपटक अभिभावक बनेका थिए । उनीहरूले छोरी जन्मिएको घोषणा गरेका थिए भने नोभेम्बर २०२५ मा छोरीको नाम सरायाह मल्होत्रा राखिएको बताएका थिए ।
हालै सिद्धार्थले पनि पितृत्व आफ्नो जीवनको सबैभन्दा विशेष भूमिका भएको बताएका थिए। कियाराले पनि आमा बनेपछि आफूमा ठूलो परिवर्तन आएको अनुभव सुनाएकी थिइन् ।
कियारा र सिद्धार्थ दुवै बलिउडका चर्चित कलाकार हुन् । सिद्धार्थले ‘स्टुडेन्ट अफ द इयर’, ‘एक भिलेन’ लगायत फिल्ममा काम गरेका छन् भने कियाराले ‘एमएस धोनी : द अनटोल्ड स्टोरी’, ‘कबिर सिंह’, ‘भुल भुलैया २’ लगायत फिल्मबाट लोकप्रियता कमाएकी छन् ।









