• २०८३ असोज २१ बुधबार

काँग्रेस महाधिवेशन: आज बन्दसत्र सकिदै, उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने

काँग्रेस महाधिवेशन: आज बन्दसत्र सकिदै, उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको चौथो दिन आज बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरूले पार्टीका विभिन्न प्रस्ताव तथा प्रतिवेदन पारित गर्दैछन् ।

आजको बन्द सत्र बिहान १०: ३० बजे पुनः छलफल सञ्चालन गर्ने तय भएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् । आजको बन्द सत्रको सुरुवातमा सभापति गगनकुमार थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।

बन्द सत्रमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ सम्बन्धी राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’ सम्बन्धी समसामयिक प्रस्ताव, महासचिव गुरुराज घिमिरेको संगठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल गरेर पारित गर्ने कार्यसूची रहेको छ । 

यसअघि मंगलबार काँग्रेसको नयाँ नेतृत्व चयन गर्नका लागि उम्मेदारको मनोनयन दर्ता भएको छ । त्यस्तै केन्द्रीय निर्वाचन समितिले मतदाता नामावलीको अन्तिम सूची समेत सार्बजनिक गरेको छ । जस अनुसार कांग्रेसको १५औँ महाधिवेशनका लागि ७ हजार २५५ जना अन्तिम मतदाता कायम भएका छन् ।

निर्वाचन समितिका अनुसार आज बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने छ भने विहिबार बिहान साढे ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने छ । काँग्रेसको मतदान खुलामञ्च, राष्ट्रिय सभा गृह र प्रज्ञा भवनमा हुने गरी तयारी गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै