काठमाडौं । कपासको आर्थिक, सामाजिक तथा विकासात्मक महत्वबारे जनचेतना बढाउने उद्देश्यले हरेक वर्ष अक्टोबर ७ मा विश्व कपास दिवस मनाइन्छ ।
यस वर्षको विश्व कपास दिवसको आधिकारिक नारा ‘कपासका लागि राम्रो : व्यापार, रूपान्तरण र साझेदारीमार्फत समृद्धि निर्माण’ रहेको छ । दिवसका अवसरमा उज्बेकिस्तानको तास्कन्दस्थित हायात रिजेन्सी होटलमा विश्वस्तरीय कार्यक्रम आयोजना गरिनेछ । विश्व खाद्य तथा कृषि संगठन, विश्व व्यापार संगठन र अन्तर्राष्ट्रिय कपास सल्लाहकार समितिलगायत अन्तर्राष्ट्रिय संस्थाको सहकार्यमा कार्यक्रम आयोजना हुने बताइएको छ ।
विश्वका ७५ भन्दा बढी देशका लाखौँ साना किसान तथा ग्रामीण समुदायको जीविकोपार्जनमा कपासले महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । दिवसले कपास उत्पादन तथा व्यापारसँग जोडिएका समुदायको आर्थिक योगदानलाई उजागर गर्ने उद्देश्य राखेको छ ।
यस वर्ष पानीको अभाव, जलवायु परिवर्तन तथा कपासको दिगो मूल्य शृङ्खला रूपान्तरणजस्ता चुनौतीलाई समेत प्राथमिकताका साथ उठाइने बताइएको छ ।









