काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्राथमिकतामा रहेको ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८३’ संसद सचिवायालयमा दर्ता भएको छ । मन्त्रालयले मंगलबार उक्त विधेयक संसद् सचिवालयमा दर्ता गराएको हो ।
विधेयकले नवीकरणीय ऊर्जा प्रवर्द्धन र ऊर्जा दक्षतालाई एउटै कानुनी तथा संस्थागत संरचनाभित्र समेट्दै ऊर्जा उत्पादन, उपयोग, बचत र खपत वृद्धिलाई एकीकृत रूपमा अघि बढाउने लक्ष्य राखेको छ ।
प्रस्तावित व्यवस्थाअनुसार हालको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको स्थानमा ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता केन्द्र’ स्थापना गर्ने प्रस्ताव गरिएको छ। केन्द्रलाई नवीकरणीय ऊर्जाको विकास तथा विस्तारसँगै ऊर्जा दक्षता र संरक्षणसम्बन्धी कार्यक्रम सञ्चालन तथा समन्वय गर्ने प्रमुख संस्थाका रूपमा विकास गरिनेछ ।
विधेयकले सौर्य, वायु, जैविक तथा अन्य नवीन नवीकरणीय ऊर्जाको विकाससँगै उत्पादित ऊर्जाको प्रभावकारी उपयोग र ऊर्जा दक्ष प्रविधिको विस्तारलाई प्राथमिकता दिएको छ ।
विधेयक पारित भई प्रभावकारी कार्यान्वयन भएमा नवीकरणीय ऊर्जा उत्पादन, ऊर्जा संरक्षण, आन्तरिक खपत, निजी लगानी, नयाँ ऊर्जा प्रविधि, हरित उद्योग तथा कार्बन र जलवायु वित्तलाई एउटै ऊर्जा विकास चक्रमा जोड्ने आधार तयार हुने अपेक्षा गरिएको छ ।









