काठमाडौँ । रुसमा अज्ञात भाइरसबाट २८ वर्षीया प्रयोगशाला कर्मचारीको मृत्यु भएपछि उनको सम्पर्कमा आएका करिब २०० जनालाई चिकित्सकीय निगरानीमा राखिएको छ ।
ती महिला साइबेरियास्थित एक प्लेग अनुसन्धान संस्थानमा कार्यरत थिइन्। स्थानीय विवरणअनुसार सेप्टेम्बर २५ मा प्रयोगशालामा काम गर्ने क्रममा जीवित जैविक नमुना रहेको परीक्षण नली फुटेको थियो । सेप्टेम्बर २९ मा स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएकी उनलाई भेन्टिलेटरमा राखिएको थियो । उपचारकै क्रममा अक्टोबर १ राति उनको मृत्यु भएको हो । परीक्षण नलीमा कस्तो जैविक नमुना थियो भन्ने आधिकारिक रूपमा खुलाइएको छैन । केही स्थानीय विवरणमा त्यसलाई प्लेगसँग जोडिए पनि रुसी अधिकारीहरूले पुष्टि गरेका छैनन् । स्वास्थ्य निकायले भने प्रयोगशालामा परीक्षण नली फुटेको घटनालाई अस्वीकार गर्दै मृतकको नमुनामा प्रयोगशालाको कामसँग सम्बन्धित सूक्ष्मजीव नभेटिएको जनाएको छ ।
मृत्युपछि अधिकारीहरूले आकस्मिक बैठक गरेका छन् । महिलालाई गम्भीर निमोनिया भएको भए पनि संक्रमणको कारण अझै स्पष्ट हुन सकेको छैन । सावधानीका रूपमा प्रयोगशाला नजिकको कारखानाले कर्मचारीलाई मास्क लगाउन आग्रह गरेको छ । रूसका पूर्वस्वास्थ्य अधिकारी गेन्नादी ओनिशेन्कोले हालको अवस्थामा प्लेगको सम्भावना कम रहेको बताएका छन् ।









