काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार सिंहले नेपाली काँग्रेसका सभापति गगन थापालाई जवाफ दिदै पार्टीको जिम्मा ठग, भ्रष्टाचारी र ठेकेदारहरूको हातमा सुम्पिएपछि नै उनीहरू बाहिरिन बाध्य भएको बताएका छन् ।
सभापति थापाले आइतबार काँग्रेसको महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै काँग्रेसका कैयौं कार्यकर्ता रास्वपामा गएको भन्दै सभापति रवि लामिछानेलाई जवाफ दिएका थिए ।
त्यसको जवाफमा अमरेशले गगनलाई नाक फुलाएर 'लोकतन्त्र ल्याउने पार्टी' भनेर गर्व गरेपनि त्यही लोकतन्त्रका लागि लडेको पार्टीलाई आज यो हालतमा पुर्याउने जिम्मेवारी कसको हो ? भन्दै प्रश्न गरेका छन् ।
उनले भनेका छन्- नयाँ पार्टीका सभापतिज्यु, यत्तिकै पार्टी छोडेर गएका होइनन्, तपाईंहरूले पार्टीको जिम्मा ठग, भ्रष्टाचारी र ठेकेदारहरूको हातमा सुम्पिएपछि नै उनीहरू बाहिरिन बाध्य भएका हुन् ।
नाक फुलाएर 'लोकतन्त्र ल्याउने पार्टी' भनेर गर्व गर्नुभयो। तर प्रश्न यो हो—त्यही लोकतन्त्रका लागि लडेको पार्टीलाई आज यो हालतमा पुर्याउने जिम्मेवारी कसको हो ? इतिहासको गौरव गाएर मात्र पुग्दैन, वर्तमानको सर्वनाशको जिम्मेवारी पनि लिन सक्नुपर्छ । लोकतन्त्र ल्याएको पार्टीको नाम बेचेर राजनीति गर्ने, अनि त्यही पार्टीको जग आफैं भत्काउने—योभन्दा ठूलो विडम्बना अरू के होला ?









