सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमै हुने शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका छन् ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आइतबार बसेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मूल आयोजक समितिको बैठकलाई सम्बोधन गर्दै उनले प्रतियोगिता नसर्नेमा ढुक्क हुन आग्रह गरेका हुन् ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा कर्णाली खेलकुद विकास परिषद्को सहआयोजनामा आगामी मंसिर १६ देखि २७ गतेसम्म दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ सञ्चालन हुँदैछ। मन्त्री पोखरेलले प्रतियोगिताको तयारीसँगै यसको उत्सवसमेत सुरु भइसकेको बताए । उनले भने, ‘दशौँ राष्ट्रिय खेलकुद हुने हो कि होइन भनेर कसैले पनि दुविधा नमान्नुहोला। दशौँ राष्ट्रिय खेलकुदको उत्सव आजैबाट सुरु भयो, त्यसैले प्रतियोगिता मात्रै मंसिर १६ गतेबाट हो।’
मन्त्री पोखरेलले यसपटकको राष्ट्रिय खेलकुद प्रतियोगिता विगतका प्रतियोगिताभन्दा थप प्रभावकारी र व्यवस्थित रूपमा सञ्चालन हुने विश्वास व्यक्त गरे । प्रतियोगिता सफल बनाउन तीनै तहका सरकार तथा सम्पूर्ण सरोकारवाला मिलेर काम गर्नुपर्नेमा उनले जोड दिए । उनका अनुसार प्रतियोगितालाई सफल बनाउन संघ, प्रदेश र स्थानीय तहसहित सम्बन्धित सबै पक्षको सहकार्य आवश्यक छ । बैठकमा आसन्न दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तथा व्यवस्थापनका विषयमा छलफल भएको थियो ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २९ गतेसम्म सुर्खेतमा सञ्चालन हुदैछ ।









