• २०८३ असोज १८ आइतबार

ओपनएआईका सुरक्षा विज्ञले दिए राजीनामा

ओपनएआईका सुरक्षा विज्ञले दिए राजीनामा

काठमाडौं । च्याटजिपिटी निर्माण गर्ने कम्पनी ओपनएआईका सुरक्षा विज्ञ डेभिड रोबिन्सनले राजीनामा दिएका छन् । उनले ठूला प्रविधि कम्पनीहरू नयाँ कृत्रिम बुद्धिमत्ता विकास गर्ने होडमा अत्यधिक छिटो अघि बढिरहेको र त्यस क्रममा यसबाट उत्पन्न हुन सक्ने गम्भीर जोखिमलाई बेवास्ता गरिरहेको चेतावनी दिएका छन् ।

अमेरिकाको द एटलान्टिक पत्रिकामा लेख प्रकाशित गर्दै रोबिन्सनले कृत्रिम बुद्धिमत्तालाई सामान्य विद्युतीय कार्यक्रमजस्तो नभई आणविक ऊर्जा केन्द्रजस्तै कडा सुरक्षा व्यवस्थासहित सञ्चालन गर्नुपर्ने बताएका छन् । आणविक ऊर्जा केन्द्रमा एउटा गल्तीले ठूलो क्षति हुन सक्ने भएकाले हरेक काम निकै सावधानीपूर्वक गरिएझैं कृत्रिम बुद्धिमत्ताको विकास र प्रयोगमा पनि सुरुदेखि नै उच्चतम सुरक्षा सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ ।

रोबिन्सनका अनुसार ओपनएआईले अहिलेसम्म गल्ती गर्दै त्यसबाट सिक्ने शैलीमा काम गर्दै आएको छ । सामान्य विद्युतीय कार्यक्रमका लागि यस्तो विधि उपयोगी हुन सक्ने भए पनि कृत्रिम बुद्धिमत्ता अहिले निकै शक्तिशाली भइसकेकाले यसको परीक्षणका क्रममा हुने गल्तीको परिणाम निकै ठूलो हुन सक्ने उनले बताए । परीक्षणकै क्रममा केही पटक कम्पनीको कृत्रिम बुद्धिमत्ता नियन्त्रणबाहिर गएको र त्यसलाई तत्काल रोक्न नसकिएको अनुभवसमेत उनले उल्लेख गरेका छन् । उनले अहिले कृत्रिम बुद्धिमत्ता कम्पनीहरूसँग यसलाई पूर्ण रूपमा सुरक्षित बनाउने निश्चित उपायसमेत नभएको दाबी गरेका छन् । कम्पनीबाहिर रहेका अनुसन्धानकर्ता र विज्ञहरूसँग भने सम्भावित समाधानबारे महत्वपूर्ण अनुसन्धान रहेको उनको भनाइ छ । ओपनएआईमा काम गर्ने कर्मचारीहरू दक्ष र मेहनती भए पनि कम्पनीको मुख्य ध्यान सुरक्षा भन्दा नयाँ सुविधा छिटो सार्वजनिक गर्ने प्रतिस्पर्धातर्फ गएको उनले आरोप लगाएका छन् ।

पछिल्ला साताहरूमा ओपनएआईसहित विभिन्न ठूला कृत्रिम बुद्धिमत्ता कम्पनीका कर्मचारी तथा अनुसन्धानकर्ताले यस प्रविधिबाट भविष्यमा गम्भीर जोखिम उत्पन्न हुन सक्ने चेतावनी दिँदै आएका छन् । कृत्रिम बुद्धिमत्ताका प्रमुख वैज्ञानिकमध्येका नोबेल पुरस्कार विजेता जेफ्री हिन्टनले समेत समयमै नियन्त्रण गर्न नसके यस प्रविधिले मानव अस्तित्वमै खतरा निम्त्याउन सक्ने चेतावनी दिँदै आएका छन्  ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै