काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन समारोह आज दिउँसो २ बजेदेखि सुरु हुदैछ ।
आज उद्घाटन समारोह हुने काँग्रेसको महाधिवेशनमा भोली र पर्सि बन्दसत्र हुने तालिका रहेको छ । महाधिवेशनमा नयाँ नेतृत्वको चयनका लागि सोमबार उम्मेदवारी दर्ता सुरु गर्ने कार्यतालिका रहेको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ ।
महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विद्युतीय मतदान भने नहुने भएको छ । मतदान विद्युतीय मेसिनबाट नगरी ब्यालेट पेपरबाट नै गराउने भएको समितिले जनाएको छ । विद्युतीय मतदान विगतमा एमाले, रास्वपाको महाधिवेशनमा पनि धेरै समय लागेकाले काँग्रेसले ब्यालेट पेपरबाटै मतदान गर्न लागेको बताएको छ ।
काँग्रेसले नयाँ नेतृत्वको निर्वाचनका लागि असोज २१ र २२ गतेको मिति तोकेको छ । खुलामञ्चमा उद्घाटन समारोह र बन्दसत्र गर्ने तयारी गरेको काँग्रेसले मतदान भने राष्ट्रिय सभा गृह र प्रज्ञा भवनमा गर्ने तयारी गरेको छ ।









