काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मकवानपुरस्थित कुलेखानी जलविद्युत् आयोजनाको बाँधको शनिबार निरीक्षण गरेका छन् । पछिल्लो ८ देखि १२ असोजसम्मको भारी वर्षाले बाँधको पानीको सतह सतर्कता तहमा पुगेपछि मन्त्री श्रेष्ठले स्थलगत निरीक्षण गरेका हुन् ।
निरीक्षणका क्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठसहितका अधिकारीले बाँधको अवस्थाबारे मन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए । मन्त्री श्रेष्ठले कुलेखानी बाँध सुरक्षित र अहिले अवस्था सामान्य रहेको बताएका छन् ।
उनका अनुसार भारी वर्षाका क्रममा बाँधको पानीको सतह व्यवस्थापन, चौबीसै घण्टा निगरानी तथा तल्लो तटीय क्षेत्रमा सूचना प्रवाह गरी आवश्यक सतर्कता अपनाइएको थियो । अहिले बाँध स्थिर र सुरक्षित अवस्थामा रहेको उनले बताए ।
मन्त्री श्रेष्ठले अविरल वर्षाका कारण विभिन्न जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा क्षति पुगेको र त्यसको प्रभाव कुलेखानीमा समेत परेको बताए । कुलेखानी जलविद्युत् केन्द्र नेपालको विद्युत् प्रणालीको मुख्य ‘ब्याकअप’का रूपमा रहेकाले पानीको सतह सतर्कता तहमा पुग्दा विद्युत् आपूर्ति व्यवस्थापनमा समेत दबाब सिर्जना भएको उनको भनाइ छ ।
स्थलगत अध्ययनपछि जलाशयमा पर्याप्त पानी रहेकाले आगामी सुख्खा मौसममा विद्युत् आपूर्ति व्यवस्थापनमा थप सहज हुने विश्वास बढेको मन्त्री श्रेष्ठले बताए। ऊर्जा सुरक्षालाई बलियो बनाउँदै भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न सरकार सक्रिय रहेको उनले बताए ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले कुलेखानी विद्युत् प्रणालीको मेरुदण्डका रूपमा रहेको बताए । उनका अनुसार कुलेखानीले विद्युत्को उच्च माग हुने समयमा आपूर्ति व्यवस्थापन तथा प्रणाली सञ्चालनमा महत्वपूर्ण योगदान गर्दै आएको छ । उनले पनि बाँधको वर्तमान अवस्था सामान्य रहेको जानकारी दिए ।









