तेह्रथुम । तेह्रथुम र पाँचथर जोड्ने तमोर खोला (लाम्बुघाट) पुलको निर्माण करिब डेढ दशकपछि अघि बढ्ने भएको छ ।
२०६९ असार २६ गते ठेक्का सम्झौता भएको पुलको निर्माण मूल विस्तृत आयोजना प्रतिवेदन र डिजाइनमा देखिएको प्राविधिक समस्याका कारण लामो समयदेखि अलपत्र थियो ।
समस्या पहिचान गरी प्रतिवेदन पेस भए पनि लामो समयसम्म प्राविधिक समाधान हुन नसक्दा आयोजना रुग्ण बनेको थियो । पूर्वाधार विकास मन्त्रालयको पहलमा असोज ७ गते निर्माण व्यवसायी, परामर्शदाता र सडक विभागअन्तर्गतको पुल महाशाखाबीच संयुक्त बैठक बसेर समस्या समाधानको प्रक्रिया अघि बढाइएको हो ।
मन्त्रालयले मूल विस्तृत आयोजना प्रतिवेदन तयार गर्ने परामर्शदातालाई प्राविधिक समस्या पुनरावलोकन गरी आवश्यक समाधान प्रस्ताव गर्न सहजीकरण गरेको छ । प्राविधिक समस्या समाधानतर्फ प्रक्रिया अघि बढेसँगै पुलको निर्माण पुनः तीव्र बनाउने आधार तयार भएको मन्त्रालयले जनाएको छ ।
हाल पुलको मुख्य बाँकी काम स्टिल ट्रस जडान रहेको छ। प्राविधिक समस्या समाधान गरी निर्माणलाई गति दिँदै २०८३ सालको अन्त्यसम्म पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।









