• २०८३ असोज १६ शुक्रबार

ह्वेलको ठक्करले याट डुब्यो, १८ घण्टापछि चार जनाको जीवितै उद्धार

ह्वेलको ठक्करले याट डुब्यो, १८ घण्टापछि चार जनाको जीवितै उद्धार

काठमाडौँ । दक्षिण प्रशान्त महासागरमा स्पर्म ह्वेलको ठक्करबाट १६ मिटर लामो अस्ट्रेलियाली याट डुबेपछि त्यसमा सवार चार जना नाविकको उद्धार गरिएको छ । 

घटना सेप्टेम्बर २६, २०२६ मा भएको थियो । याट नर्फोक टापुबाट करिब २५० समुद्री माइल उत्तर र न्युजिल्यान्डबाट करिब ५०० समुद्री माइल टाढा रहेको अवस्थामा ह्वेलसँग ठोक्किएको थियो ।

‘ताइ ताम’ नामको याटमा अस्ट्रेलियाका दुई जना, न्युजिल्यान्डका एक जना र फ्रान्सका एक जना गरी चार जना थिए । याट चलाइरहेकी जेम्मा कुपरले अचानक ठूलो आवाजसहित याट एकातर्फ धकेलिएको बताएकी छन् । त्यसपछि चालक दलले नजिकै ६ देखि ८ वटा स्पर्म ह्वेल देखेका थिए । ठक्करका कारण याटको स्टेयरिङ प्रणाली बिग्रिनुका साथै अगाडिको भागमा क्षति पुगेपछि पानी भित्र पस्न थालेको थियो ।

ठक्करको करिब ३० मिनेटपछि चालक दलले आपत्कालीन सङ्केत पठाउँदै उद्धारका लागि जानकारी गराएको थियो । उनीहरूले केही घण्टासम्म याटमा पसेको पानी बाहिर निकाल्ने र क्षति रोक्ने प्रयास गरेका थिए । तर अवस्था नियन्त्रणबाहिर गएपछि राति याट छाडेर चारै जना जीवनरक्षक डुंगामा पुगेका थिए । पछि याट समुद्रमा डुबेको थियो ।

उद्धारका लागि न्युजिल्यान्डको वायुसेनाको गस्ती विमान परिचालन गरिएको थियो । विमानले जीवनरक्षक डुंगामा रहेका चार जनासँग रेडियो सम्पर्क स्थापित गर्दै उनीहरूको स्थान पत्ता लगाउन सहयोग गरेको थियो । त्यसपछि १४३ मिटर लामो मालवाहक पानीजहाज ‘एमभी सोफ्राना सर्भिल’ घटनास्थलतर्फ पठाइएको थियो ।

करिब १८ घण्टापछि, सेप्टेम्बर २७ को बिहान ६ बजे चारै जनालाई सकुशल उद्धार गरिएको थियो। उद्धार गरिएका चारै जना सुरक्षित रहेको न्युजिल्यान्डको उद्धार समन्वय केन्द्रले जनाएको छ । उद्धार अधिकारीहरूले चालक दलले आपत्कालीन सङ्केत समयमै पठाउनु र समुद्रमा आवश्यक तयारी गर्नु उनीहरूको ज्यान जोगाउन महत्वपूर्ण भएको बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै