• २०८३ असोज १५ बिहीबार

जिम्बाब्वेमा हेलिकप्टर दुर्घटना, चर्चित व्यवसायी विकनेलसहित ६ जनाको मृत्यु

जिम्बाब्वेमा हेलिकप्टर दुर्घटना, चर्चित व्यवसायी विकनेलसहित ६ जनाको मृत्यु

काठमाडौँ । जिम्बाब्वेको मरोन्डेरा क्षेत्रमा ६ जना सवार हेलिकप्टर दुर्घटनामा परेको छ । दुर्घटनापछि हेलिकप्टरमा आगलागी हुँदा त्यसमा सवार चार यात्रु र दुई चालक दलका सदस्यसहित सबै ६ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४३ वर्षीय चर्चित व्यवसायी विकनेल चिवायो र उनकी पत्नी लुसी मुतेके पनि रहेका छन् । चिवायोलाई जिम्बाब्वेका राष्ट्रपति एमर्सन मनाङाग्वाका निकट व्यक्ति मानिन्थ्यो । 

हेलिकप्टर राजधानी हरारेबाट करिब ७० किलोमिटर पूर्वमा रहेको मरोन्डेरा क्षेत्रमा दुर्घटनामा परेको हो । प्रहरीले स्थानीय समय अनुसार बुधबार साँझ करिब ५ बजे दुर्घटनाबारे जानकारी पाएको जनाएको छ । दुर्घटना के कारणले भयो भन्ने अहिलेसम्म खुलेको छैन। प्रहरीले घटनाबारे अनुसन्धान गर्ने जनाएको छ ।

चिवायो ऊर्जा तथा पूर्वाधारसम्बन्धी परियोजनामा काम गर्ने कम्पनी इन्ट्राट्रेक जिम्बाब्वेका संस्थापक थिए । उनी ग्वान्डा सौर्य परियोजनालगायत सरकारी ठेक्काका कारण पनि चर्चामा आएका थिए । चिवायो आफ्नो विलासी जीवनशैली र सामाजिक सञ्जालमा राख्ने सामग्रीका कारण पनि परिचित थिए । उनले महँगा कार तथा विलासी हेलिकप्टरसँग खिचिएका तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक गर्दै आएका थिए । चिवायोको व्यवसाय र राजनीतिक सम्बन्धलाई लिएर समय–समयमा प्रश्नसमेत उठ्ने गरेका थिए । उनले राष्ट्रपति मनाङाग्वासँग भएका भेटघाटका तस्बिर तथा भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक गर्ने गरेका थिए । उनी दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा, केन्याका राष्ट्रपति विलियम रुटो, तान्जानियाकी राष्ट्रपति सामिया सुलुहु हसन र इस्वाटिनीका राजा मस्वाती तृतीयलगायतका नेताहरूसँग पनि भेट गरिसकेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै