काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना बितिसक्दा पनि मन्त्रालयको वित्तीय प्रगति न्यून रहेको भन्दै बजेट तथा कार्यक्रम कार्यान्वयनलाई गति दिन मातहतका निकायलाई निर्देशन दिएका छन् ।
बुधबार आयोजित समीक्षा बैठकमा मन्त्री श्रेष्ठले आर्थिक वर्षको अन्तिममा मात्रै बजेट खर्च गर्ने परम्परा अन्त्य गरी सुरुदेखि नै योजनाबद्ध रूपमा काम गर्नुपर्ने बताए । उनले स्पष्ट कार्यतालिका बनाएर निर्धारित समयमै ठेक्का आह्वान तथा सम्झौता गरी आयोजना अघि बढाउन निर्देशन दिए । 'व्यक्तिले होइन, प्रणालीले काम गर्ने वातावरण बनाउनुपर्छ,' उनले भने ।
मन्त्री श्रेष्ठले आफ्नो जिम्मेवारी समयमा पूरा नगर्नु पनि जवाफदेहिताको विषय भएको भन्दै राजनीतिक नेतृत्वसँगै कर्मचारी संयन्त्र जनताप्रति उत्तरदायी हुनुपर्ने बताए । उनले मन्त्रालय, विभाग र मातहतका निकायबीच समन्वय बढाउँदै सरकार गठन भएको करिब छ महिनाको अवधिमा भएका कामको समीक्षा गरी आगामी कार्यदिशा तय गर्न निर्देशन दिए ।
बैठकमा मन्त्रालयको हालसम्मको वित्तीय प्रगति ३.०८ प्रतिशत रहेको जानकारी दिइएको थियो । नवनियुक्त सचिव डा. जगदीश्वर कर्माचार्यले पुँजीगत खर्च सुधारका लागि मन्त्रालयका सम्बन्धित महाशाखा तथा निकायलाई सक्रिय बनाउनुपर्ने बताए ।
बैठकमा जलस्रोत र नवीकरणीय ऊर्जासम्बन्धी दुई विधेयक मन्त्रिपरिषद्मा पेश गरिएको, ७६ विषयमा कानुनी राय दिइएको र १२ विषयमा जरिवानासम्बन्धी कारबाही गरिएको जानकारी दिइयो । साथै बूढीगण्डकी विकास प्राधिकरण गठनको अवधारणा, विद्युत् नियमावली तथा विद्युत् व्यापार नियमावलीको मस्यौदा, ऊर्जा विधेयक तथा विद्युत् र ऊर्जा नीतिको मस्यौदालगायतका काम अघि बढाइएको बताइएको छ ।









