काठमाडौँ । हिमलुङ हिमालको आधार शिविरमा गएको ठूलो हिमपहिरोपछि बेपत्ताको खोजी तथा उद्धार कार्य प्रतिकूल मौसम र अस्थिर हिमाली अवस्थाका कारण अस्थायी रूपमा रोकिएको छ ।
नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनका अनुसार घटनास्थलबाट चार जनाको शव निकालिएको छ भने १२ जना कुक कर्मचारी अझै बेपत्ता छन् । माउन्टेन गाइड मिङ्मा जी. शेर्पाको नेतृत्वमा संघको उद्धार टोली जीवित व्यक्ति भेटिने आशासहित हिमाल चढेको थियो । अत्यन्त कठिन परिस्थितिमा लामो समय खोजी गरेपछि चार जनाको शव फेला परेको एसोसियसनले जनाएको छ ।
आधार शिविर क्षेत्रमा करिब १४ फिट हिउ जमेकाले हरेक ठाउ हातैले खोतलेर खोज्नु कठिन र जोखिमपूर्ण भएको थियो । अत्यधिक चिसो र अस्थिर हिउले उद्धार टोलीको काम थप चुनौतीपूर्ण बनाएको एसोसिएसनले बताउदै वर्तमान अवस्था सुरक्षित नभएकाले टोलीले खोजी अभियान अस्थायी रूपमा रोकिएको छ । हिउ र हिमालको अवस्थालाई निरन्तर निगरानी गर्दै सुरक्षित भएपछि बाँकी बेपत्ताको खोजी तथा शव निकाल्न सम्भव प्रयास गर्ने एसोसियसनले जनाएको छ ।









