काठमाडौँ । भारतको ककरोच जनता पार्टी (सीजेपी) ले आगामी अक्टोबर २ मा मुम्बईमा ‘जेल भरो आन्दोलन’ गर्ने घोषणा गरेको छ । पार्टीका संस्थापक अभिजीत दिप्केले सोमबार यस्तो घोषणा गरेका हुन् ।
गान्धी जयन्तीका दिन शिवाजी पार्कमा प्रदर्शन गर्ने पार्टीको अनुरोधलाई मुम्बई प्रहरीले अस्वीकार गरेपछि दिप्केले ‘जेल भरो आन्दोलन’ गर्ने घोषणा गरेका हुन् । दिप्केले सामाजिक सञ्जालमार्फत अक्टोबर २ मा शिवाजी पार्कमा ‘जेल भरो आन्दोलन’ गर्ने जानकारी दिएका छन् ।
प्रस्तावित प्रदर्शन मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारलाई लक्षित गर्दै आयोजना गर्न लागिएको थियो । सीजेपीले ज्ञानेश कुमारको राजीनामा माग गर्दै आएको छ । साथै मतदाता नामावलीको विशेष सघन पुनरावलोकन प्रक्रिया रोक्न तथा निर्वाचन आयोगसम्बन्धी कानुनमा संशोधन गर्नुपर्ने माग पनि पार्टीले अघि सारेको छ ।
मुम्बई प्रहरीले शिवाजी पार्कमा सभा गर्न अनुमति दिन नसकिने जनाएको छ । बम्बई उच्च अदालतको आदेश तथा त्यसपछि महाराष्ट्र सरकारले जारी गरेका आदेशलाई उद्धृत गर्दै प्रहरीले शिवाजी पार्कमा प्रदर्शनका लागि अनुमति दिन नसकिने बताएको हो । प्रहरीले सम्भावित ध्वनि प्रदूषण, सवारीसाधनको चाप तथा सर्वसाधारणको आवागमनमा पर्न सक्ने असरलाई समेत कारणका रूपमा उल्लेख गर्दै आयोजकलाई वैकल्पिक स्थानबारे विचार गर्न आग्रह गरेको छ ।
यसअघि दिप्केले प्रदर्शनको अनुमति अस्वीकार गरिएकोप्रति आपत्ति जनाउँदै नागरिकको आवाज दबाउने प्रयास स्वीकार्य नहुने बताएका थिए ।









