काठमाडौँ । एसियाली खेलकुदमा चीनका अनुभवी खेलाडीसँगै नयाँ पुस्ताका खेलाडीले पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । १३ वर्षीया पौडी खेलाडी यु जिदी यसको सबैभन्दा चर्चित उदाहरण बनेकी छन् ।
एसियाली खेलकुदमा पहिलोपटक सहभागी युले अहिलेसम्म तीन व्यक्तिगत स्वर्ण पदक जितिसकेकी छन् । उनले २०० मिटर बटरफ्लाई, २०० मिटर व्यक्तिगत मेड्ली र ४०० मिटर व्यक्तिगत मेड्लीमा स्वर्ण जित्दै तीनवटै स्पर्धामा खेलकुद कीर्तिमान कायम गरेकी छन् ।
४०० मिटर व्यक्तिगत मेड्लीमा उनले ४ मिनेट २८.५६ सेकेन्डको समय निकाल्दै स्वर्ण जितेकी हुन् । अर्को महिना १४ वर्ष पुग्ने यु विश्व स्विमिङ च्याम्पियनसिपको इतिहासमा सबैभन्दा कम उमेरमा पदक जित्ने खेलाडीसमेत हुन् ।
तीन स्वर्ण जितेपछि युले आफूलाई सफलता सहज नभएको बताएकी छन् । उनले लगातारको प्रतिस्पर्धा निकै थकानपूर्ण भए पनि आफ्नो प्रदर्शनमा सुधार गर्न सफल भएको बताएकी छन् ।
चीनको नयाँ पुस्ताबाट १९ वर्षीय पौडी खेलाडी चाङ झान्सुओले पनि प्रभावशाली प्रदर्शन गरिरहेका छन् । उनले १५ सय मिटर र २०० मिटर फ्रिस्टाइलमा स्वर्ण जित्नुका साथै रिले स्पर्धामा पनि चीनलाई स्वर्ण दिलाउन योगदान गरेका छन् ।
यस्तै, १६ वर्षीया जिम्न्यास्टिक खेलाडी के छिनछिनले व्यक्तिगत सर्वाङ्गीणमा रजत जितेपछि चीनलाई महिला टोलीतर्फ स्वर्ण दिलाउन महत्वपूर्ण भूमिका खेलेकी छन् ।
एसियाली खेलकुदमा चीनको सबैभन्दा कम उमेरकी खेलाडी १२ वर्षीया स्केटबोर्ड खेलाडी छाउ शिक्वीले पनि प्रतिस्पर्धा गरिरहेकी छन् । यससँगै १७ वर्षीया धाविका छन युचे र १८ वर्षीया भालाफेँक खेलाडी यान यिजीले पनि चीनको नयाँ पुस्ताको प्रतिनिधित्व गरिरहेका छन् ।
जापानमा जारी एशियाली खेलकुदमा चीनले अहिलेसम्म १२२ स्वर्ण पदकसहित कुल २११ पदक जितेको छ ।









