काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ भने देशभर मनसुनी वायु, पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।
हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको बाँकी हिमाली भू-भागमा साधारणतया बादल, पहाडी भू-भागमा आंशिक बादल र तराई भु-भागमा मौसम मुख्यतया सफा रहेको छ । त्यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिक बादल लाग्नेछ । देशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । सुदुरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थान तथा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
त्यस्तै आज राति देशका हिमाली र पहाडी भू-भागमा तथा सुदुरपश्चिम र लुम्बिनी प्रदेशको तराई भु-भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहने छ भने देशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।









