पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको पहिलो उडानमार्फत विदेश प्रस्थान गर्ने यात्रुहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बिदाई गरेका छन् ।
पोखराबाट फ्लाई दुबईले आज पहिलो उडान सुरु गरेसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई जाने यात्रुहरुलाई प्रमुख आचार्यले खादा ओढाएर बिदाई गरेका हुन् ।
विश्वप्रसिद्ध वायुसेवा कम्पनी फ्लाई दुबईले पोखरा–दुबई र दुबई–पोखरा रुटमा आजदेखि नियमित उडान शुरु गर्न लागेको हो । फ्लाई दुबईले आज साँझ ६:१५ बजे पोखरामा अवतरण गरी ७:१५ बजे पुनः दुबईका लागि उडान भर्ने बताइएको छ । पहिलो उडानबाट आउने विमानलाई वाटर स्यालुट (पानीको फोहरा) सहित भव्य स्वागत गरिने तयारी गरिएको छ ।

फ्लाई दुबईको उडान विवरण अनुसार दुबईबाट पोखराका लागि उडान नम्बर एफजेड ११६५ र पोखराबाट दुबईका लागि एफजेड ११६६ रहनेछ ।
पोखराबाट दुबई जाने उडानमा बिजनेस क्लासको भाडा करिब १ लाख ९० हजार र इकोनोमी क्लासको भाडा करिब ९१ हजार रुपैयाँ पर्नेछ । दुबै गन्तव्यबीचको यात्रा समय करिब साढे ४ घण्टा हुनेछ भने पोखराबाट दुबई फर्किँदा करिब साढे ५ घण्टा लाग्ने बताइएको छ ।
यो उडानले पोखरालाई विश्व बजारसँग दिगो रूपमा जोड्न र पर्यटन प्रवर्द्धनमा ठूलो योगदान दिने विश्वास गरिएको छ । करिब २२ अर्ब ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२३ को जनवरी १ मा उद्घाटन गरिएको भएपनि हाल आन्तरिक उडानमा मात्र सीमित रहेको छ ।









