काठमाडौँ । चीनले कृत्रिम बौद्धिकता प्रविधिमा ठूलो लगानी बढाइरहे पनि देशको अर्थतन्त्र भने सुस्त हुँदै गएको छ । सन् २०२६ को पहिलो छ महिनामा स्वदेशी कारको बिक्री २० प्रतिशत र घरको बिक्री १४ प्रतिशतले घटेको उल्लेख गरिएको छ ।
अगस्टमा चीनका युवामा बेरोजगारी दर १८.९ प्रतिशत पुगेको छ । यस्तो अवस्थामा केही चिनियाँ अर्थशास्त्रीले रोजगारी र नागरिकको खर्च बढाउने क्षेत्रमा बढी सहयोग आवश्यक रहेको बताएका छन् । पूर्व केन्द्रीय बैंक सल्लाहकार ली दाओकुईले अर्थतन्त्र अपेक्षाभन्दा बढी सुस्त भएको बताएका छन् भने लिउ शिजिनले ग्रामीण जनताको पेन्सन बढाउन सुझाव दिएका छन् ।
यसबीच चीनले कृत्रिम बौद्धिकता र त्यसका लागि आवश्यक तथ्याङ्क केन्द्र निर्माणमा ठूलो रकम लगानी गरिरहेको छ । सन् २००० देखि २०२३ सम्म सरकारी पहलमा स्थापना भएका लगानी कोषले कृत्रिम बौद्धिकता कम्पनीमा करिब २ खर्ब १० अर्ब अमेरिकी डलर लगानी गरेको उल्लेख छ । चीनले आगामी पाँच वर्षमा तथ्याङ्क केन्द्र निर्माणमा करिब ३ खर्ब ९० अर्ब अमेरिकी डलर खर्च गर्ने तयारी गरेको जनाइएको छ ।
चीनका केही अर्थशास्त्रीले प्रविधिमा लगानीसँगै रोजगारी, उपभोग र कम्पनीको आम्दानी बढाउनेतर्फ पनि ध्यान दिनुपर्ने बताएका छन् । यसैबीच केही चिनियाँ नागरिकले सरकारको ठूलो कृत्रिम बौद्धिकता अभियानलाई माओत्सेतुङको ‘ग्रेट लिप फरवार्ड’ अभियानसँग तुलना गर्दै ‘कृत्रिम बौद्धिकताको ग्रेट लिप फरवार्ड’ भन्न थालेका छन् ।









