• २०८३ भदौ ३१ बुधबार

इरानविरुद्धको युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर नाघ्यो

इरानविरुद्धको युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर नाघ्यो

काठमाडौँ । इरानविरुद्धको युद्धमा अमेरिकाको रक्षा विभागले अगस्ट १ सम्म ३८ अर्ब अमेरिकी डलरभन्दा बढी खर्च गरिसकेको छ । युद्धको अवस्था र तीव्रताअनुसार आगामी दिनमा अमेरिकाले हरेक महिना ३ अर्ब डलर वा त्योभन्दा बढी खर्च गर्नुपर्ने अनुमान गरिएको छ ।

गैरदलीय संस्था अमेरिकी कंग्रेसको बजेट कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार युद्धका कारण सन् २०२७ को पहिलो त्रैमासिकसम्म अमेरिकामा महँगी बढ्न सक्नेछ । तेल र प्राकृतिक ग्यासको आपूर्ति प्रभावित हुँदा महँगी पहिलेको अनुमानभन्दा करिब शून्य दशमलव ५ प्रतिशत बिन्दुले बढी हुन सक्ने प्रतिवेदनमा उल्लेख छ ।

इरानसँगको युद्धका कारण होर्मुज जलडमरूमध्यबाट तेल तथा प्राकृतिक ग्यासको आवागमन प्रभावित भएको छ । लाल सागरबाट हुने समुद्री ढुवानीमा समेत अवरोध आएको जनाइएको छ ।

यो अनुमान अमेरिकी प्रतिनिधि सभाका सदस्य ब्रेन्डन बोयलले जानकारी मागेपछि तयार गरिएको हो । कंग्रेसको बजेट कार्यालयको अनुमान यसअघि रक्षा मन्त्री पीट हेगसेथले सिनेटमा दिएको ३७ अर्ब ५० करोड डलरको खर्च अनुमानसँग पनि नजिक छ ।

प्रतिवेदनअनुसार खर्चको ठूलो हिस्सा युद्धमा प्रयोग भएका वा नष्ट भएका क्षेप्यास्त्र, हतियार र सैन्य उपकरण पुनः खरिद गर्न भइरहेको छ । युद्धमा मारिएका वा घाइते अमेरिकी सैनिकको उपचार तथा भविष्यमा दिइने स्वास्थ्य सेवा र अपांगता क्षतिपूर्तिको खर्च भने यसमा समावेश गरिएको छैन ।

यसैबीच, अमेरिकी रक्षा मन्त्रालयका महानिरीक्षकको प्रतिवेदनअनुसार फेब्रुअरी २८ देखि जुन ३० सम्म चलेको ‘अपरेसन एपिक फ्युरी’का क्रममा अमेरिकी ५० भन्दा बढी विमान, हेलिकोप्टर र ड्रोन नष्ट वा क्षतिग्रस्त भएका थिए । तीमध्ये ३० वटा एमक्यु–९ रिफर ड्रोन रहेका छन् ।

इरानी क्षेप्यास्त्र तथा ड्रोन आक्रमणबाट कुवेत, बहराइन, कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब, इराक, ओमान र जोर्डनमा रहेका अमेरिकी सैन्य आधारका सयौँ भवनमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ ।

अमेरिकाले चार एफ–१५ई, एउटा ए–१० थन्डरबोल्ट, एउटा ई–३ सेन्ट्री र एउटा एएच–६४ अपाचे हेलिकोप्टर गुमाएको जनाइएको छ। एउटा एफ–३५ए र सातवटा केसी–१३५ विमानमा समेत क्षति पुगेको थियो । इराकमा मार्च १२ मा इन्धन भर्ने क्रममा भएको दुर्घटनामा छ अमेरिकी सैनिकको मृत्यु भएको थियो ।

प्रतिवेदनले अमेरिकी हतियार तथा गोला–बारुदको भण्डारमा दबाब बढेको र आपूर्ति व्यवस्थामा समेत समस्या देखिएको जनाएको छ । यद्यपि, राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा हतियारको अभाव रहेको दाबी अस्वीकार गर्दै अत्याधुनिक हतियार उत्पादन उच्च स्तरमा भइरहेको बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै