काठमाडौँ । छिमेकी इन्डोनेसियामा लागेको डढेलोको धुवाँ सिंगापुरसम्म पुगेपछि मंगलबार सिंगापुरमा वायु प्रदूषणको स्तर स्वास्थ्यका लागि जोखिमपूर्ण अवस्थामा पुगेको छ ।
सिंगापुरका पाँचै क्षेत्रमा वायुको गुणस्तर अस्वस्थकर अवस्थामा पुगेको राष्ट्रिय वातावरण निकायले जनाएको छ । सन् २०१९ को सेप्टेम्बरपछि पहिलोपटक सबै क्षेत्रमा यस्तो अवस्था देखिएको हो । विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये सिंगापुर पनि परेको छ भने मलेसिया र इन्डोनेसियाका राजधानी पनि उच्च प्रदूषण भएका सहरको सूचीमा छन् ।
इन्डोनेसियामा हरेक वर्षको सुख्खा मौसममा डढेलो लाग्ने गर्छ। यस वर्ष भने डढेलोका घटना असामान्य रूपमा बढेका छन् । अगस्टमा मात्रै ९ हजारभन्दा बढी सम्भावित डढेलोका केन्द्र पहिचान भएका थिए, जुन सन् २०१५ यताको अगस्ट महिनाको सबैभन्दा धेरै संख्या हो । सेप्टेम्बरमा अहिलेसम्म ७ हजारभन्दा बढी केन्द्र पहिचान भइसकेका छन् ।
क्षेत्रमा बढ्दो एल निनो प्रभावका कारण मौसम थप सुख्खा बनेकाले डढेलोको अवस्था गम्भीर बनेको छ । आसियान विशेष मौसम विज्ञान केन्द्रले दक्षिणपूर्वी एसियाका अधिकांश दक्षिणी क्षेत्रमा तत्काल वर्षा हुने सम्भावना कम रहेकाले धुवाँ र प्रदूषणको अवस्था अझै कायम रहने चेतावनी दिएको छ ।
इन्डोनेसियाको कालिमान्तान र सुमात्राका केही क्षेत्रमा मंगलबार वायु प्रदूषण खतरनाक वा अत्यन्त अस्वस्थकर अवस्थामा पुगेको सरकारी तथ्यांकले देखाएको छ । मलेसिया पनि डढेलोको धुवाँबाट प्रभावित भएको छ। अगस्टको अन्त्यतिर बाक्लो धुवाँका कारण मलेसियाले राष्ट्रिय दिवसको वार्षिक सम्बोधनसमेत खुला स्थानबाट सारेर बन्द स्थानमा आयोजना गरेको थियो ।
इन्डोनेसियामा खेतीका लागि जमिन सफा गर्न गरिने वन डढेलो तथा सुख्खा वनस्पतिमा आगो सल्किँदा डढेलो फैलिने गरेको बताइएको छ । विशेषगरी कार्बनयुक्त पीट जमिनमा लागेको आगो लामो समयसम्म भित्रभित्रै बलिरहने भएकाले नियन्त्रण गर्न कठिन हुने गर्छ। सुक्खा मौसमले इन्डोनेसियाको प्राकृतिक स्रोत क्षेत्रमा समेत असर पारिरहेको छ ।
इन्डोनेसियाको कालिमान्तानमा लागेको डढेलोको धुवाँ हावाको दिशा परिवर्तन भएपछि सुमात्राबाट आएको धुवाँसँगै सिंगापुरतर्फ पुगेको सिंगापुरको राष्ट्रिय वातावरण निकायले जनाएको छ । आगामी २४ घण्टासम्म धुवाँको असर कायम रहने र वायुको गुणस्तर मध्यमदेखि अस्वस्थकर स्तरसम्म रहने अनुमान गरिएको छ ।
विश्वका अन्य क्षेत्रमा समेत यस वर्ष डढेलोको समस्या गम्भीर बनेको छ। युरोप र उत्तर अमेरिकाका विभिन्न क्षेत्रमा ठूला डढेलोका घटना भएका छन्। अमेरिकी जलवायु पूर्वानुमान केन्द्रका अनुसार हालको एल निनोले सन् १९५० यताका सबै अभिलेख पार गर्दै ऐतिहासिक स्तरमा पुग्ने सम्भावना ७५ प्रतिशत रहेको छ ।









