काठमाडौँ । बाढी प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग गर्दै आएको आर्या फार्माल्याबले नुवाकोटमा स्वास्थ्य सेवा विस्तार गर्ने भएको छ ।
कम्पनीले विराट मेडिकल कलेजसँगको सहकार्यमा बाढी प्रभावित समुदायलाई लक्षित गरी सात दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो ।
यसअघि कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ८२ लाख रुपैयाँ बराबरका औषधिजन्य सामग्री सहयोग गरेको थियो। सोही अभियानलाई निरन्तरता दिँदै प्रभावित समुदायमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउन शिविर सञ्चालन गर्न लागिएको कम्पनीले जनाएको छ । शिविर विदुर नगरपालिका–७ स्थित सरस्वती विद्यालय, वडा नं. ५ स्थित विदुर विद्यालाय र वडा नं. ९ स्थित भैरवडाँडामा सञ्चालन गर्ने योजना रहेको छ । बाढी प्रभावित स्थानीयवासीलाई लक्षित शिविरमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण, चिकित्सकीय परामर्श, आवश्यक औषधि वितरण तथा विभिन्न रोगको परीक्षण निःशुल्क गरिनेछ ।
थप उपचार आवश्यक पर्ने बिरामीको पहिचान गरी सम्बन्धित स्वास्थ्य संस्थामा पठाउने व्यवस्था पनि मिलाइनेछ । बाढीपछि प्रभावित परिवारलाई स्वास्थ्य संस्थासम्म पुग्न आर्थिक तथा व्यावहारिक कठिनाइ रहेकाले समुदायमै पुगेर स्वास्थ्य सेवा दिन शिविर सञ्चालन गर्न लागिएको आर्या फार्माल्याबले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत राहत तथा स्वास्थ्य सेवामार्फत सहयोगलाई निरन्तरता दिएको जनाएको छ ।









