काठमाडौँ । एक महिनासम्म विशेष तरिकाले मनाइने गुंला पर्व बिधिबत रुपमा आजदेखि सकिदैछ ।
बौद्ध धर्मावलम्बीको महत्त्वपूर्ण सांस्कृतिक पर्व ‘गुँला पर्व’ साउन शुक्ल पक्ष प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिनासम्म मनाइन्छ । यो पर्व नेपाल संवतको गुंलात्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गरिन्छ ।
नेपाल भाषामा ‘गुँ’को अर्थ नौ तथा ‘ला’को अर्थ महिनाका रुपमा लिइएको छ । वर्षभर दिवंगत भएका आफन्तको सुखावति भुवन (वैकुण्ठ) मा वास होस् भन्ने कामना गर्दै उनीहरुका आफन्तले एक महिनासम्म आफ्नो घर नजिकै रहेका बौद्ध विहार तथा चैत्यको परिक्रमा गर्ने प्रचलन छ ।
मध्यपुर ठिमीमा पनि न्याकुबाजा नाम अर्नाको सिङको बाजा र चित बाजा नामक भेडाको सिङको बाजा बजाइन्छ । यस्तै यस अवसरमा इटुम्बहालमा पनि दिपंकर र केश्चान्द्र आजुलाई विराजमान गराइन्छ । यस पर्व काठमाडौँ बाहिर पनि विभिन्न तरिकाले मनाइन्छ, काठमाडौँ उपत्यका बाहिर दोलखामा भने यो पर्व हिलो जात्रा नाम गरी कृष्ण जन्म अष्टमी सम्म मनाइन्छ ।
गुंला बाजं खलः स्वयम्भू जाने चलन लिच्छविकालीन राजा हर्षदेवको शासनकाल ने.सं २०४–२१८ बाट सुरु भएको बताइन्छ ।
यस अवधिमा धा बाजा, म्वायेली, नेकू बाजा लगायतको विशेष महत्व छ । गुंला पर्व अवधिको एक महिना मासु, अण्डा, प्याज लगायतका खाद्य बस्तुबाट टाढा बसी दैनिक नुहाएर शुद्ध हुनुपर्ने चलन छ । विशेषगरी काठमाडौंका नेवार समुदायले प्रत्येक दिन मौलिक बाजा बजाएर स्वयम्भू महाचैत्य परिक्रमा गर्छन् । सांगीतिक माहोल बनाएर प्रत्येक दिन बिहान चैत्य तथा गुम्बा, परिक्रमा गरिँदा पापबाट मुक्ति पाउने विश्वास अनुसार एकमहिना अवधिको पर्व मनाएको बताइन्छ ।









