काठमाडौँ । कुलमान घिसिङले चिलिमे जलविद्युत् केन्द्रको भूमिगत विद्युत्गृहमा फसेका कर्मचारीको उद्धार कार्यमा निरन्तर प्रगति भइरहेको बताएका छन् ।
हाल चिलिमेको सुरुङ उद्धार कार्यमा सहभागी भएका घिसिङले विद्युत्गृह पुग्न अब करिब १०० मिटर दूरी बाँकी रहेको बताएका हुन् ।
घिसिङले चिलिमे जलविद्युत् कम्पनीको प्रबन्ध निर्देशकका रूपमा विद्युत्गृह सञ्चालनको अनुभवका आधारमा उद्धार टोलीलाई आवश्यक प्राविधिक सुझाव, समन्वय र सहजीकरण गरिरहेको बताएका छन् । विद्युत्गृह जाने मुख्य पहुँच सुरुङमा ठूलो मात्रामा जम्मा भएको लेदो, बालुवा र ढुंगा हटाउने काम तीव्र रूपमा भइरहेको र उद्धार टोली लेदोको भाग छिचोल्दै निरन्तर अगाडि बढिरहेको बताएका छन्।
सुरुङ साँघुरिएको स्थानबाट करिब १२० मिटर भित्र आवाज पठाउँदा प्रतिध्वनि सुनिएको र त्यहाँबाट चिसो हावा समेत आइरहेको घिसिङले बताएका छन् । यसले सुरुङभित्र फसेका व्यक्तिहरू सकुशल रहेको हुनसक्ने आशा बलियो बनाएको उनको भनाइ छ । स्याफ्रुवेसीतर्फबाट सुरुङसम्म पहुँच मार्ग बनाउन एक्साभेटरमार्फत भइरहेको काम पनि तीव्र पारिएको छ । आजसम्ममा एक्साभेटर सुरुङसम्म पुग्ने सम्भावना रहेको र त्यसपछि उद्धार कार्य थप तीव्र हुने घिसिङले बताएका छन् ।
उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय सेनाका विज्ञ उद्धार टोली, स्थानीय प्रशासन तथा चिलिमे जलविद्युत् कम्पनीका कर्मचारी खटिएका छन् ।









