काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले कङ्ग्रेसमा आफ्नो नियन्त्रण कायम राखे प्रत्येक अमेरिकी वयस्कलाई पाँच हजार डलर दिने घोषणा गरेका छन् ।
रिपब्लिकन पार्टीको सम्मेलनलाई सम्बोधन गर्दै ट्रम्पले उक्त रकमलाई ‘ट्रम्प लाभांश’ भनेका छन् । तर रकम कसरी वितरण गर्ने र यस्तो भुक्तानी कानुनी रूपमा सम्भव छ कि छैन भन्ने स्पष्ट भइसकेको छैन । करिब २७ करोड अमेरिकी वयस्कलाई रकम दिँदा करिब १३ खर्ब ५० अर्ब डलर खर्च हुने अनुमान गरिएको छ ।
ट्रम्पले आफ्नो कार्यकालको उपलब्धिको प्रशंसा गर्दै मतदातालाई रिपब्लिकन उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन् । उनले मध्यावधि निर्वाचनसम्म निर्णायक राज्य तथा निर्वाचन क्षेत्रमा व्यापक प्रचार गर्ने बताएका छन् ।
महँगी र इरानसँगको युद्धलाई मतदाताको प्रमुख चासोका विषय मानिए पनि सम्मेलनमा डेमोक्रेटिक पार्टीमाथि मुख्य रूपमा आक्रमण गरिएको थियो । ट्रम्पले इरानविरुद्धको युद्ध छिट्टै अन्त्य हुने दाबी गर्दै निर्वाचनपछि युद्ध तत्काल समाप्त हुनेसमेत बताएका छन् ।









