• २०८३ भदौ २६ शुक्रबार

च्याम्पियन्स लिगमा बायर्न र म्यानचेस्टर युनाइटेडको प्रभावशाली जित

च्याम्पियन्स लिगमा बायर्न र म्यानचेस्टर युनाइटेडको प्रभावशाली जित

काठमाडौँ । युरोपेली च्याम्पियन्स लिगको नयाँ सिजनमा बायर्न म्युनिख र म्यानचेस्टर युनाइटेडले शानदार जित निकाल्दै प्रतियोगितामा विजयी सुरुआत गरेका छन् । बायर्नले बोडो/ग्लिम्टलाई ५-० गोल अन्तरले पराजित गर्दा म्यानचेस्टर युनाइटेडले साबाहलाई ४-० ले हराएको थियो ।

बायर्नको जितमा जमाल मुसियाला, ह्यारी केन, अल्फोन्सो डेभिस र माइकल ओलिसेले गोल गरेका थिए । ओलिसेले दुई गोल गरेका थिए । चोटका कारण केही समय मैदानबाहिर रहेका मुसियालाले पुनरागमनपछि महत्वपूर्ण गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा बायर्नले बलमा स्पष्ट पकड बनाए पनि बोडो/ग्लिम्टको संगठित रक्षापंक्तिका कारण गोल गर्न सकेको थिएन । दोस्रो हाफको सुरुआतमै मुसियालाले गोल गरेपछि भने खेल बायर्नको नियन्त्रणमा गएको थियो । त्यसपछि केन, डेभिस र ओलिसेले गोल थप्दै टोलीलाई फराकिलो जित दिलाएका थिए । बोडो/ग्लिम्टका ओडिन ब्योर्तुफ्टले खेलको अन्त्यतिर रातो कार्ड पाएका थिए ।

यस जितसँगै बायर्नले च्याम्पियन्स लिगको सुरुआती खेलमा लगातार २३औँ सिजन जित निकाल्ने कीर्तिमान बनाएको छ ।

यता म्यानचेस्टर युनाइटेडले घरेलु मैदान ओल्ड ट्राफोर्डमा साबाहलाई ४-० ले हराउँदै च्याम्पियन्स लिगमा प्रभावशाली पुनरागमन गरेको छ । माटेउस कुन्हाले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ब्रुनो फर्नान्डेसले ४३औँ मिनेटमा दोस्रो गोल थपेका थिए भने बेन्जामिन सेस्कोले पहिलो हाफ सकिनुअघि गोल गर्दै युनाइटेडलाई ३-० को अग्रता दिलाएका थिए । 

दोस्रो हाफमा लिसान्द्रो मार्टिनेजले ६९औँ मिनेटमा गोल गरेपछि युनाइटेडले ४-० को जित सुनिश्चित गरेको थियो । साबाहले सुरुआतमा केही आक्रमण गरे पनि युनाइटेडको तुलनामा उसको खेल कमजोर देखिएको थियो ।

साबाहका लागि भने यो च्याम्पियन्स लिगमा पहिलो सहभागिता थियो । टोलीले पहिलो खेलमै फरक–फरक ११ देशका खेलाडीलाई सुरुआती टोलीमा उतार्दै प्रतियोगितामा नयाँ कीर्तिमानसमेत बनाएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै