काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद् तथा महाविपद्का बेला ठूलो सङ्ख्यामा शव व्यवस्थापन गर्न १२ संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कम्तीमा ५० शव अट्ने शवगृह निर्माण तथा क्षमता विस्तार गर्ने नीतिगत निर्णय गरेको छ ।
विगतका विपद्, पछिल्लो भोटेकोशी बाढी तथा शव व्यवस्थापनमा देखिएका कठिनाइलाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ । यसबाट शवको सुरक्षित संरक्षण, पहिचान, परीक्षण तथा आवश्यक कानुनी प्रक्रिया व्यवस्थित गर्न सहयोग पुग्नेछ ।
निर्णयअनुसार कोशी, नारायणी, गजेन्द्र नारायण सिंह, भरतपुर, भेरी र डडेलधुरा अस्पताल तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, बीपी कोइराला, पाटन, पोखरा, राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शवगृह निर्माण वा क्षमता विस्तार गरिनेछ ।
मन्त्रालयका अनुसार यसले विपद् व्यवस्थापन क्षमता सुदृढ गर्नुका साथै फरेन्सिक तथा मेडिको–लिगल सेवा प्रभावकारी बनाउन सहयोग पुग्नेछ ।









