काठमाडौँ । पेरिसस्थित आइफिल टावरमा धार्मिक प्रतिनिधिमण्डलको भ्रमणका क्रममा महिला कर्मचारीलाई ड्युटीबाट हटाइएको आरोपपछि विवाद चर्किएको छ । करिब १०० सदस्यीय हिन्दू धार्मिक प्रतिनिधिमण्डलको भ्रमणका क्रममा केही महिला कर्मचारीलाई जिम्मेवारीबाट हटाएर पुरुष कर्मचारी खटाइएको आरोप लागेपछि आइफिल टावरका कर्मचारीले विरोध जनाएका थिए ।
विवादपछि आइफिल टावर सञ्चालन गर्ने कम्पनीले प्रतिनिधिमण्डलबाट महिला कर्मचारीसँग कम सम्पर्कमा रहने माग आएको स्वीकार गर्दै त्यस्तो सर्त स्वीकार गर्न नहुने बताएको छ । कर्मचारीहरूले व्यवस्थापनसँग माफी माग्दै घटनाको विस्तृत छानबिन गर्न माग गरेका छन् । कर्मचारीको बैठकका कारण सोमबार आइफिल टावर सर्वसाधारणका लागि खुल्न केही ढिलाइ भएको थियो ।
प्रतिनिधिमण्डलसँग सम्बन्धित बोचासनवासी श्री अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था (बीएपीएस)ले भने आफ्नो भ्रमणका क्रममा कसैलाई पनि आइफिल टावर प्रवेश गर्न नरोकेको स्पष्ट पारेको छ । ठूलो प्रतिनिधिमण्डल भएकाले अन्य पर्यटकलाई कम असुविधा होस् भनेर आइफिल टावरको टोलीसँग समन्वय गरी बिहानको समयमा भ्रमण तय गरिएको र घटनाबाट कसैलाई दुःख पुगेको भए हृदयदेखि माफी माग्ने संस्थाले जनाएको छ ।
यसैबीच, पेरिसका मेयर इम्यानुएल ग्रेगोयरले घटनाका सबै तथ्य सार्वजनिक गर्न छानबिनको आदेश दिएका छन् । यो विवाद पेरिसनजिकै बीएपीएसको हिन्दू मन्दिर उद्घाटन भएको केही दिनपछि आएको हो । उद्घाटन समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भर्चुअल रूपमा सहभागी भएका थिए । बीएपीएसले आपसी सम्मान र सेवा भावप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएको छ ।









