• २०८३ भदौ २१ आइतबार

चीन र सिङ्गापुरबीच संयुक्त समुद्री सैन्य अभ्यास

चीन र सिङ्गापुरबीच संयुक्त समुद्री सैन्य अभ्यास

काठमाडौँ । चीन र सिङ्गापुरबीचको संयुक्त समुद्री सैन्य अभ्यास चीनको दक्षिणी ग्वाङदोङ प्रान्तमा सुरु भएको छ । दुई देशबीच यस्तो संयुक्त अभ्यास हुन लागेको यो पाँचौँ पटक हो ।

झानजियाङस्थित चिनियाँ नौसेना बन्दरगाहमा अभ्यासको उद्घाटन गरिएको हो । झानजियाङ आसपासको समुद्री क्षेत्र र हवाई क्षेत्रमा सञ्चालन हुने अभ्यासमा वास्तविक हतियारसहितको सैन्य अभ्यास, समुद्रमै इन्धन तथा आवश्यक सामग्री आपूर्ति र संयुक्त खोज तथा उद्धार अभ्यास समावेश छन् ।

अभ्यासमा चीनको निर्देशित क्षेप्यास्त्रयुक्त युद्धपोत ताली र सिङ्गापुरको युद्धपोत आरएसएस स्टेडफास्ट सहभागी छन् । अभ्यासका क्रममा दुवै देशका नौसेनाले गोताखोरी, पनडुब्बी खोज तथा उद्धार, पानीमुनिको उपचार, सञ्चार, समुद्रमै आपूर्ति तथा संयुक्त समुद्री आक्रमणसम्बन्धी अभ्यास गर्नेछन् ।

चिनियाँ रक्षा मन्त्रालयका अनुसार अभ्यासको उद्देश्य दुई देशका सेनाबीच पारस्परिक विश्वास बढाउनु, व्यावहारिक सहकार्य सुदृढ गर्नु तथा क्षेत्रीय शान्ति र स्थायित्व कायम गर्न संयुक्त रूपमा काम गर्ने क्षमता बढाउनु हो । दक्षिण चीन सागरमा बढ्दो समुद्री आवागमन र जटिल मौसम तथा समुद्री अवस्थाका कारण संयुक्त खोज तथा उद्धार अभ्यासलाई विशेष महत्व दिइएको चिनियाँ सैन्य विज्ञ झाङ जुनसेले बताएका छन् ।

चीन र सिङ्गापुरले सन् २०१५ मा पहिलोपटक द्विपक्षीय समुद्री सैन्य अभ्यास गरेका थिए । पछिल्ला वर्षमा यस्तो अभ्यास दुई देशबीचको नियमित सैन्य सहकार्यको हिस्सा बन्दै आएको छ। सन् २०२५ को मेमा पनि चिनियाँ नौसेनाले निर्देशित क्षेप्यास्त्रयुक्त युद्धपोत र विस्फोटक निष्क्रिय पार्ने विशेष युद्धपोत सिङ्गापुर पठाएर संयुक्त अभ्यास गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै