धादिङ । भोटेकोशीमा आएको बाढीका कारण क्षतिग्रस्त बनेको पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ परेवाभिरमा सडक मर्मतका लागि १२ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै आज शनिबार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म परेवाभिर हुँदै सञ्चालन हुने सम्पूर्ण सवारीसाधनको आवागमन बन्द रहने जनाएको छ ।
भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण परेवाभिरस्थित पृथ्वी राजमार्गमा क्षति पुगेपछि हाल उक्त सडकखण्ड एकतर्फी रूपमा मात्र सञ्चालन हुँदै आएको थियो । त्रिशुली नदीले सडकतर्फ कटान गरेपछि पृथ्वी राजमार्गका परेवाभीर, कृष्णभीरसहितका स्थानमा सडकमा क्षति पुर्याएको छ ।
क्षतिग्रस्त सडकको आवश्यक मर्मत कार्य गर्नुपर्ने भएकाले उक्त अवधिमा एम्बुलेन्स र शववाहनबाहेक अन्य सबै सवारीसाधनको आवागमनमा पूर्ण रूपमा रोक लगाइने प्रशासनले जनाएको छ ।
सडक मर्मतका कारण यात्रु तथा सवारीसाधनमा पर्न जाने असुविधाप्रति जिल्ला प्रशासन कार्यालयले क्षमायाचना गरेको छ । साथै, सवारीसाधन तथा यात्रुलाई उक्त अवधिमा वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।









