• २०८३ भदौ १९ शुक्रबार

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले के के निर्णय गर्यो ?

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले के के निर्णय गर्यो ?

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालले भोटेकोशी बाढीमा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडितको उद्धार, राहत र स्वास्थ्य उपचारमा प्रभावकारी भूमिका खेल्न सरकारसँग माग गरेको छ । 

पार्टीको भदौ १६, १७ र १८ गते ललितपुरको बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले बाढीपछिको राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

त्यस्तै, पार्टीले नेपालको वर्तमान राजनीतिक अवस्था र आफ्नो रणनीतिक दिशासम्बन्धी राजनीतिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ। साथै, केन्द्रीय समितिको बैठक आगामी असोज १३, १४ र १५ गते काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको छ ।

पार्टीको नीति, सिद्धान्त र निर्णयविपरीत काम गरेको भन्दै केही निर्वाचित जनप्रतिनिधि तथा प्रदेशसभा सदस्यलाई स्पष्टीकरणसहित अनुशासनसम्बन्धी कारबाही गर्ने निर्णय गरिएको छ । लुम्बिनी प्रदेश सरकारको पक्षमा पार्टी निर्णयविपरीत मतदान गरी सरकारमा सहभागी भएका प्रदेशसभा सदस्यहरूमाथि पनि कारबाही गर्ने जनाइएको छ । बैठकले विभिन्न स्थानीय तहका निर्वाचित जनप्रतिनिधि तथा पार्टीका नेता–कार्यकर्तालाई पनि अनुशासनसम्बन्धी कारबाही गर्दै पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

जसपा नेपालले लुम्बिनी प्रदेशमा पार्टीको निर्णयविपरीत प्रदेश सरकारको पक्षमा मतदान गरी सरकारमा सहभागी भएका रुपन्देही–३(१) का प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेय, समानुपातिकतर्फकी प्रदेशसभा सदस्य हेमा बेल्वासे, बाँके–२(१) का प्रदेशसभा सदस्य भण्डारीलाल अहिर र बाँके–२(२) का प्रदेशसभा सदस्य आदेशकुमार अग्रवालमाथि कारबाही गर्ने निर्णय गरिएको छ । उनीहरूलाई पार्टी अनुशासनसम्बन्धी कारबाही गर्दै साधारण सदस्यबाट समेत निष्कासन गर्ने निर्णय भएको छ ।

त्यसैगरी, सिरहा जिल्लाको लहान उपमहानगरपालिकाका उपप्रमुख राम चलितर महतो, सुखीपुर गाउँपालिका–४ का रमेशकुमार यादव, धनगढीमाई नगरपालिका–७ का विजयकुमार महतो, कर्जन्हा नगरपालिका–६ का प्रकाशमान श्रेष्ठ, कर्जन्हा–८ का शम्भुकुमार व्याह, कर्जन्हा–९ का वडाध्यक्ष मो. मुस्तकिम, कर्जन्हा–११ का किस्मत राई, धिरम नगरपालिका–८ का कार्यपालिका सदस्य वीरेन्द्रकुमार दनाल, भोजपुरको टेम्केमैयुङ गाउँपालिका–३ का वडाध्यक्ष बालकृष्ण राई र उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ का वडाध्यक्ष छत्रबहादुर राईमाथि पनि कारबाही गर्ने निर्णय गरिएको छ ।

त्यस्तै, इलामको माम्सेबुङ गाउँपालिकाका उपप्रमुख विनोद नेम्बाङ, सन्दकपुर गाउँपालिका–७ का वडाध्यक्ष ज्ञानेन्द्र गुरुङ तथा सुनसरीको कोशी गाउँपालिका–६ का वडाध्यक्ष जुडीलाल कटुवाललाई समेत पार्टी विधानबमोजिम अनुशासनसम्बन्धी कारबाही गरी पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय भएको छ ।

यसैगरी, अग्रगामी मोर्चाको गठनलाई पार्टीले स्वागत तथा समर्थन गर्दै मोर्चाले घोषणा गर्ने कार्यक्रमलाई सफल बनाउन पार्टीका नेता तथा कार्यकर्तालाई सक्रिय रूपमा सहभागी गराउने निर्णयसमेत गरिएको छ ।

त्यस्तै पार्टी संगठन सुदृढीकरणका लागि पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु र दाङमा भदौ २१ गतेदेखि जिल्ला तहका अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरिएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै