काठमाडौँ । भारत र जापानले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपटक एकअर्काविरुद्ध खेल्ने भएका छन् । दुवै टोलीबीच सेप्टेम्बर २२ मा जापानको तोचिगी प्रान्तस्थित सानो अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टी-२० अन्तर्राष्ट्रिय खेल हुने भएको हो ।
जापान क्रिकेट संघ र भारतीय क्रिकेट नियन्त्रण बोर्डले खेलको पुष्टि गरेका हुन् । दुवै टोली सन् २०२६ को एसियाली खेलकुदको पुरुष क्रिकेट प्रतियोगितामा समेत सहभागी हुँदैछन् ।
एसियाली खेलकुदमा जापानले समूह चरणबाट प्रतिस्पर्धा गर्नेछ भने भारत सिधै क्वार्टरफाइनल चरणमा प्रवेश गर्नेछ । यसै वर्ष टी-२० विश्वकप जितेको भारतले एसियाली खेलकुदअघि यो खेललाई तयारीका रूपमा लिनेछ ।
चार वर्षअघि एसियाली खेलकुदको पुरुष क्रिकेटमा स्वर्ण पदक जितेको भारत यसपटक पनि उपाधिको दाबेदारका रूपमा रहेको छ । जापानले भने विश्वका उत्कृष्ट खेलाडी सम्मिलित भारतीय टोलीविरुद्ध खेल्दै महत्वपूर्ण अनुभव हासिल गर्ने अपेक्षा गरेको छ ।
भारतीय क्रिकेट नियन्त्रण बोर्डका सचिव देवजित सैकियाले भारत र जापानबीचको पहिलो अन्तर्राष्ट्रिय खेल क्रिकेट विस्तारका दृष्टिले महत्वपूर्ण अवसर भएको बताएका छन् । जापान क्रिकेट संघका प्रमुख कार्यकारी अधिकृत नाओकी मियाजीले विश्व च्याम्पियन भारतलाई जापानमा आमन्त्रण गर्न पाउनु आफ्नो संघका लागि ऐतिहासिक क्षण भएको बताएका छन् ।
भारत र जापानबीचको यो खेलले एसियामा क्रिकेटको विस्तारमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ । एसियाली खेलकुदमा क्रिकेटको सहभागिताले आगामी ओलम्पिकमा पनि क्रिकेटको पुनरागमनको बाटो खोल्ने विश्वास गरिएको छ ।









