• २०८३ भदौ १९ शुक्रबार

काठमाडौँ महानगरले खोल्यो विपद् प्रभावितका लागि मनोसामाजिक परामर्श केन्द्र

काठमाडौँ महानगरले खोल्यो विपद् प्रभावितका लागि मनोसामाजिक परामर्श केन्द्र

काठमाडौँ । रसुवा र भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा अन्य नागरिकमा परेको मानसिक र भावनात्मक असरलाई व्यवस्थापन गर्न काठमाडौँ महानगरपालिकाले राष्ट्रिय सभा गृहमा मनोसामाजिक परामर्श केन्द्र सञ्चालनमा ल्याएको छ ।

केन्द्रमा चिन्ता, तनाव, दुःख तथा अन्य मनोसामाजिक समस्या भोगिरहेका नागरिकलाई मनोविद्हरूले परामर्श तथा आवश्यक सहयोग प्रदान गर्नेछन् । महानगरपालिकाको स्वास्थ्य विभागले मनोसामाजिक परामर्श सेवा प्रदान गर्ने विभिन्न संस्थासँगको सहकार्यमा केन्द्र सञ्चालनमा ल्याएको हो ।

केन्द्रमा प्रभावित नागरिकले आफ्ना अनुभव, भावना र चिन्ता खुलस्त रूपमा व्यक्त गर्न सक्ने सुरक्षित वातावरणको व्यवस्था गरिएको छ । व्यक्त भएका भावनाका आधारमा मनोवैज्ञानिक प्राथमिक उपचार प्रदान गर्नु केन्द्रको मुख्य उद्देश्य रहेको स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले जानकारी दिएका छन् ।

बाढीबाट घाइते भएका वा अन्य कारणले प्रभावित भई काठमाडौँका अस्पताल तथा अन्य स्थानमा रहेका व्यक्तिलाई समेत केन्द्रबाट सेवा दिइनेछ । शारीरिक उपचारपछि मानसिक स्वास्थ्य परामर्श आवश्यक देखिएका बिरामीलाई अस्पतालले केन्द्रमा पठाउन सक्नेछन् भने थप उपचार आवश्यक पर्ने व्यक्तिलाई सम्बन्धित स्वास्थ्य संस्थामा पठाइनेछ ।

महानगरपालिकाको विपद् व्यवस्थापन सहायता कक्ष तथा विपद् सूचना केन्द्रमा सम्पर्कमा आउने प्रभावितलाई आवश्यकताअनुसार परामर्श केन्द्रमा पठाइनेछ ।

केन्द्रले विपद्बाट प्रभावित नागरिकलाई भावनात्मक सहयोग प्रदान गर्नुका साथै डर, चिन्ता, तनाव र दुःखसँग सामना गर्न सहयोग गर्नेछ । थप मानसिक स्वास्थ्य सेवाको आवश्यकता भएका व्यक्तिको पहिचान गरी सम्बन्धित स्वास्थ्य संस्थामा उपचारका लागि पठाउने व्यवस्था पनि गरिनेछ ।

बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहलाई विशेष प्राथमिकता दिइने महानगरपालिकाले जनाएको छ । सेवा लिने व्यक्तिको गोपनीयता र सम्मानलाई ध्यानमा राख्दै व्यावसायिक मापदण्डअनुसार सेवा सञ्चालन गरिनेछ ।

महानगरपालिकाले विपद्पछि मानसिक तथा भावनात्मक कठिनाइ भोगिरहेका व्यक्ति र परिवारलाई समयमै आवश्यक सहयोग पुर्‍याउन केन्द्र प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै