काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार तथा राहतका लागि कोरियास्थित जी मिन ट्रान्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ हजार अमेरिकी डलर (करिब २२ लाख ८० हजार रुपैयाँ) आर्थिक सहयोग गरेको छ ।
कम्पनीले बाढी प्रभावित नागरिक तथा समुदायको राहत, पुनःस्थापना र आवश्यक सहयोगमा योगदान पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको जनाएको छ ।
विपद्को कठिन घडीमा कोरियामा रहेका नेपालीले आफ्ना परिवारलाई सहज र छिटो आर्थिक सहयोग पठाउन सकून् भन्ने उद्देश्यले कम्पनीले कोरियाबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण रूपमा मिनाहा गर्दै आएको जनाएको छ ।
विनाशकारी बाढीमा ज्यान गुमाएका नागरिकप्रति कम्पनीले श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । साथै उद्धार, राहत तथा पुनःस्थापनामा निरन्तर खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायप्रति कम्पनीले आभार व्यक्त गरेको छ ।









