काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी विपद्पछि प्रभावित क्षेत्रमा उद्धार, राहत तथा भौतिक पुनर्निर्माणका विषयमा वरिष्ठ इन्जिनियर, योजनाविद्, प्राज्ञिक तथा प्राविधिक विज्ञसँग छलफल गरेको छ ।
कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको पूर्वाधार विकास अवधारणा, संवाद र दृष्टि उपसमितिको संयोजनमा ललितपुरस्थित केन्द्रीय कार्यालयमा भएको छलफलमा जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारमा भइरहेको ढिलाइ, प्राविधिक सहयोग तथा स्रोतसाधनको परिचालनबारे छलफल भएको हो ।
छलफलमा अन्तर्राष्ट्रिय तथा स्थापित प्राविधिक विज्ञको सहयोग समयमै लिन नसकिएको, सुरक्षा निकायमा मात्र निर्भर हुँदा उद्धार प्रभावकारी हुन नसकेको विषय उठाइएको थियो । सरकारी निकाय, सुरक्षा निकाय, जलविद्युत् आयोजना, स्थानीय तह तथा प्राविधिक विज्ञबीच आवश्यक समन्वय हुन नसकेको पनि सहभागीहरूले बताएका थिए ।
त्यस्तै, प्रभावित नागरिकसम्म पर्याप्त राहत पुग्न नसकेको, स्थानीय तह तथा सरोकारवालासँग प्रभावकारी संवाद र सूचना आदानप्रदान हुन नसकेको विषयमा समेत ध्यानाकर्षण गराइएको थियो ।
छलफलपछि कांग्रेसले दक्ष जनशक्ति र आवश्यक उपकरण तत्काल परिचालन गरी उद्धार कार्य तीव्र बनाउन, विज्ञ परिचालनमा कुनै भेदभाव नगर्न तथा स्थानीय सरकारलाई व्यापक रूपमा परिचालन गर्न सरकारलाई सुझाव दिएको छ ।









