• २०८३ भदौ १५ सोमबार

भोटेकोशी बाढीबाट बचेका इटालियन पर्यटकले जलवायु परिवर्तनलाई माने जिम्मेवार !

भोटेकोशी बाढीबाट बचेका इटालियन पर्यटकले जलवायु परिवर्तनलाई माने जिम्मेवार !

काठमाडौँ । नेपाल-चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीबाट बचेका इटालीका एक दम्पतीले यस्तो विपद्को पछाडि जलवायु परिवर्तनको असर रहेको बताएका छन् । उनीहरूले बाढीबाट प्रभावित नेपालीप्रति गहिरो सहानुभूति व्यक्त गरेका छन् ।

अमेरिकी समाचार संस्था सिएनएनसँग कुरा गर्दै ३७ वर्षीया भ्यालेन्टिना पिचिनिनीले यो विपद् प्रकृतिले मानवलाई दिएको स्पष्ट चेतावनी भएको बताइन् । उनका ३९ वर्षीय साथी स्टेफानो लुटुमोलोले मानिसले प्रकृतिको सम्मान नगरे यस्ता घटना अझ बढ्दै जाने बताए ।

चीन-नेपाल सीमा क्षेत्रमा पदयात्रामा रहेका उनीहरू स्थानीय पथप्रदर्शक तासी तामाङले समयमै सुरक्षित स्थानतर्फ लगेपछि ज्यान जोगाउन सफल भएका थिए ।

लुटुमोलोका अनुसार उनीहरूले आफूभन्दा करिब ३० मिटर अगाडि ठूलो वस्तुले बसहरूलाई बगाएको देखेका थिए । त्यसपछि उनीहरूले स्थानीय बाँचेकाहरूसँग पहाडमा रात बिताउँदै उद्धारको प्रतीक्षा गरेका थिए ।

उनले विपद्का बेला इटालियन र नेपालीबीच कुनै भिन्नता नरहेको बताउँदै सबै जना केवल बाँच्न सफल भएका मानिस रहेको उल्लेख गरे । नेपालीले आफन्त, घर र सम्पत्तिसहित सबै कुरा गुमाएको भन्दै उनले प्रभावितप्रति दुःख व्यक्त गरेका छन् ।

वैज्ञानिकहरूले बाढीको ठ्याक्कै कारण र यसलाई यति विनाशकारी बनाउने परिस्थितिबारे अध्ययन गरिरहेका छन् । प्रारम्भिक जानकारीअनुसार पहाडको ठूलो हिमखण्ड खसेपछि विपद्को सुरुवात भएको थियो । यद्यपि जलवायु परिवर्तनसहित अन्य कारणको भूमिका स्पष्ट गर्न थप अध्ययन आवश्यक रहेको वैज्ञानिकहरूले बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै