काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि हालसम्म ७ हजार ८९४ जना प्रहरी कर्मचारी परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ ।
प्रभावित क्षेत्रमा घाइतेको उद्धार, राहत वितरण, मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन, शव व्यवस्थापन र अन्य सुरक्षा निकायसँग समन्वयका लागि विभिन्न टोली परिचालन गरिएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयमा स्थापना गरिएको विपद् प्रतिकार्य समन्वय केन्द्रमार्फत उद्धार, खोजी, राहत तथा शव व्यवस्थापनको समन्वय भइरहेको छ। घाइतेको उपचार र शव व्यवस्थापनका लागि अस्पतालहरूसँग समन्वय गर्न छुट्टै टोलीसमेत परिचालन गरिएको छ ।
उद्धार तथा खोजीका लागि ड्रोन र तालिमप्राप्त कुकुरसहितका टोली विभिन्न स्थानमा खटिएका छन्। काठमाडौँ, नुवाकोट र धादिङका विभिन्न स्थानमा २२ वटा अस्थायी केन्द्र स्थापना गरी घाइतेको उद्धार तथा राहत वितरणलाई व्यवस्थित गरिएको प्रहरीले जनाएको छ ।
शवको सङ्कलन, पहिचान र व्यवस्थापनका लागि विशेष टोली परिचालन गरिएको छ। शवको तस्बिर तथा विवरण अभिलेख गर्नुका साथै डिएनए र औँठाछापका नमुना सङ्कलन गर्ने काम भइरहेको छ । पहिचान नभएका शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको प्रहरीले जनाएको छ ।
बाढीमा हालसम्म २५ प्रहरी सम्पर्कविहिन रहेको समेत जानकारी दिइएको छ ।









