काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले रसुवा बाढीबाट विभिन्न जलविद्युत आयोजनाको सुरुङमार्गमा फसेका मजदुर, कर्मचारी र स्थानीयको उद्धारको लागि उद्धार टोली आज साँझसम्म टनेलसम्म पुग्ने प्रयासमा रहेको बताएका छन् ।
टनेलभित्र फसेहरुको परिवारसँग मन्त्रालयमा शनिबार भेट्दै मन्त्री श्रेष्ठले भने, 'आज साँझसम्म टनेल भेट्न सक्ने सम्भावना छ ।' मन्त्री श्रेष्ठले टनेलमा फसेकाहरुको उद्धारको लागि शुक्रबारदेखि डेडिकेटेड हेलिकप्टर परिचालन गरेको जानकारी गराए ।
श्रेष्ठले राति पनि खोज तथा उद्धार र टनेलको मुहान खोल्न काम भइरहेको बताए । 'राति पनि काम रोकेका छैनौं । राति रोक्यो भने आसै मर्छ । जे जस्तो छ भेटाउन सकिन्छ भन्नका लागि बरु हाफ सिफ्ट गरेर हुन्छ कि पालो फेरेर हुन्छ कि निरन्तरता दिनेवाला पार्ट हामी गरिरहेका छौं,' उनले भने ।
खोज तथा उद्धारका लागि नेपाल विद्युत प्राधिकरण र मन्त्रालयबाट उच्च तहका विज्ञ अधिकारीहरु परिचालन गरिएको मन्त्री श्रेष्ठले बताए । 'हाम्रो नुवाकोटको ट्याक्टिकल अफिसले सक्रियरुपमा काम गरेको छ । सिनियर लेभलको म्याजेनमेन्ट टिम नुवाकोटमा छ । अर्को सिनियर लेभलको टिम रसुवामा छ,' उनले भने ।
मन्त्री श्रेष्ठले उद्धारका लागि आवश्यक स्रोत, साधन र समन्वयका लागि मन्त्रालय प्रतिबद्ध रहेको पनि बताए । मन्त्री श्रेष्ठले टनेलभित्र फसेका नागरिकको ज्यान जोगाउनु सरकारको पहिलो प्राथमिकता भन्दै कुनै माध्यमबाट अक्सिजन पुर्याउन प्रयासरत रहेको बताए । 'उद्धार हुनुअघि कुनै माध्यमबाट अक्सिजन टनेलभित्र पुर्याउन प्रयासरत छौं । उद्धार भएपछि त अस्पतालमा पनि राख्न सकिन्छ । पहिला जिवित हुनुपर्छ । त्यसका लागि अक्सिजन कुनै पाइपबाट पुर्याउन सकिन्छ कि भनेर लागेका छौं,' उनले भने ।
मन्त्रालयले पीडित परिवारलाई नियमित आधिकारिक सूचना दिने पनि मन्त्री श्रेष्ठले प्रतिबद्धता जनाए । ऊर्जा मन्त्री श्रेष्ठसँगको भेटमा पीडित परिवारका सदस्यले तीनवटा माग गरेका थिए ।
पीडित परिवारले टनेलभित्र जीवित वा मृत्यु के अवस्था हो छिटोभन्दा छिटो जानकारी दिनुपर्ने माग राखेका थिए । यसैगरी टनेलभित्र बाच्ने व्यवस्था मिलाउनुपर्ने, कम्तीमा अक्सिजनको व्यवस्था गरिदिनुपर्यो भनेका थिए । यसैगरी उद्धारका लागि इक्विपमेन्टको जे जे चाहिन्छ व्यवस्था गरिदिनुपर्यो भनेका थिए ।
रसुवा बाढीबाट १२ वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ भने विभिन जलविद्युत आयोजनाको टनेलभित्र पाँचसय भन्दा बढी मजदुर, कर्मचारी र स्थानीय फसेका छन् ।









