काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालले अन्तर्राष्ट्रिय सहयोग अस्वीकार गरेको भन्ने समाचार गलत भएको स्पष्ट पार्दै उद्धार र राहत मात्र नभई पुनःनिर्माणका लागि समेत ठूलो अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने बताएका छन् ।
शनिबार पत्रकार सम्मेलन गर्दै मन्त्री खनालले भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि सरकारले खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेको जानकारी दिए ।
बाढी प्रभावित क्षेत्रमा ठूलो क्षति भएकाले तत्काल उद्धार र राहतसँगै आगामी दिनमा पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोग आवश्यक पर्ने उनको भनाइ छ।
मन्त्री खनालका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ६२६ जनाको शव फेला परेको छ भने करिब २ हजार ४ सय जना अझै बेपत्ता छन् । त्यस्तै ४ हजार ४५० जनाभन्दा बढीको उद्धार गरिएको र उद्धार गरिएकामध्ये १८७ जनाभन्दा बढी विदेशी नागरिक रहेको मन्त्री खनालले जानकारी दिए ।
रसुवा, नुवाकोट, धादिङ र चितवनका प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय तथा प्रदेश सरकार, स्वास्थ्यकर्मी र अन्य उद्धारकर्मी संयुक्त रूपमा परिचालन भएका छन् । बेपत्ता व्यक्तिको खोजी, शव पहिचान तथा पीडितलाई आवश्यक राहत उपलब्ध गराउने काम जारी रहेको उनले बताए । मृतक, बेपत्ता तथा क्षतिको विवरण खोजी र पहिचानको काम जारी रहेकाले तथ्यांक परिवर्तन हुन सक्ने भन्दै मन्त्री खनालले अपुष्ट समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेका छन् । सरकारले पुष्टि गरेको विवरणलाई मात्र आधार बनाउन उनले अनुरोध गरेका छन् ।
विदेशी नागरिकसमेत बेपत्ता रहेकाले परराष्ट्र मन्त्रालयमा आपत्कालीन नियन्त्रण कक्ष स्थापना गरिएको र मन्त्रालयले सम्बन्धित परिवार, स्थानीय प्रशासन, अस्पताल तथा अन्य निकायसँग समन्वय गरी बेपत्ता नागरिकको पहिचान र परिवारसँग सम्पर्क गराउने काम गरिरहेको उनले बताए ।
बाढीका कारण सुरुङभित्र फसेका व्यक्तिको उद्धार, जीवित व्यक्तिको खोजी गर्ने प्रविधि, छिटो न्यायिक परीक्षण तथा डिएनए नमुना परीक्षण र शव सुरक्षित राख्ने व्यवस्थाका लागि छिमेकी मुलुकबाट विशेष सहयोग मागिएको मन्त्री खनालले बताए । त्यस्तै, भारतबाट ११ सदस्यीय विशेष प्राविधिक टोली नेपाल आइसकेको छ भने चीनबाट पनि सुरुङ उद्धार टोली चाँडै नेपाल आउने उनले जानकारी दिए ।
बाढी प्रभावित क्षेत्रमा राहत तथा मानवीय सहायता उपलब्ध गराएकोमा सरकारले अन्तर्राष्ट्रिय समुदायप्रति आभार व्यक्त गरेको छ । भारतबाट हालसम्म ५७ टनभन्दा बढी राहत सामग्री प्राप्त भएको र चीन, जापान, अस्ट्रेलियालगायत मुलुकबाट पनि अत्यावश्यक सामग्री प्राप्त भइरहेको मन्त्रालयले जनाएको छ ।
बाढीले सडक, पुल, घर, जलविद्युत् आयोजना तथा अन्य महत्वपूर्ण संरचनामा ठूलो क्षति पुर्याएकाले विस्तृत क्षति तथा आवश्यकताको मूल्यांकन भइरहेको र मूल्यांकनपछि पुनःस्थापना र पुनःनिर्माणका लागि आवश्यक अन्तर्राष्ट्रिय सहयोगबारे सरकारले थप आग्रह गर्ने मन्त्री खनालले बताए ।
सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत आर्थिक सहयोग गर्न स्वदेश तथा विदेशमा रहेका नेपाली र विदेशी नागरिकलाई आग्रह गरेको गर्दै तत्काल भौतिक राहत सामग्री भने स्वीकार गर्न सक्ने अवस्था नरहेको मन्त्रालयले जनाएको छ ।
भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङ र चितवनका केही क्षेत्र प्रभावित भए पनि नेपालका अन्य भागमा जनजीवन सामान्य रहेको जानकारी दिदै विदेशी पर्यटक तथा यात्रुका लागि नेपाल खुला रहेको भन्दै सरकारले नेपाल भ्रमण गर्न चाहने विदेशी नागरिकलाई स्वागतसमेत गरेको छ ।









