• २०८३ भदौ १० बुधबार

बेपत्ता नागरिकको खोजी तीव्र बनाउन पूर्वराजा ज्ञानेन्द्रको आग्रह

बेपत्ता नागरिकको खोजी तीव्र बनाउन पूर्वराजा ज्ञानेन्द्रको आग्रह

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले चीनको स्वशासित क्षेत्र तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढीका कारण नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

उनले बाढीका कारण भोटेकोशी र त्रिशूली नदीमा पानीको बहाव बढ्दा रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीका नदी तटीय क्षेत्रका बजार, बस्ती तथा नागरिक प्रभावित भएको बताएका छन्। बाढीबाट सडक, पुल, विद्युत् आयोजना, खेतीपाती लगायतका भौतिक संरचनामा ठूलो क्षति पुगेकोप्रति उनले दुःख व्यक्त गरेका छन् ।

प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पूर्वराजा शाहले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सुरक्षाकर्मीसहित बेपत्ता नागरिकको खोजी कार्य तत्काल तीव्र बनाउन आग्रह गरेका छन् ।

विपद्को यस दुःखद घडीमा खोजी, उद्धार, राहत तथा उपचारका काममा कुनै कमी हुन नदिन सम्बन्धित सबै निकायलाई उनले आग्रह गरेका छन् । सरकार, सुरक्षा निकाय, राष्ट्रसेवक, स्थानीय तह, सामाजिक संघसंस्था तथा आम नागरिकलाई आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्दै प्रभावित नागरिकको उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन एकजुट हुनसमेत उनले अपिल गरेका छन्।

पूर्वराजा शाहले सीमासँग जोडिएका छिमेकी देशमा आउने प्राकृतिक विपत्तिको असर अर्को देशमा समेत प्रत्यक्ष पर्न सक्ने भएकाले यस्ता विपद्को क्षति न्यूनीकरणका लागि छुट्टाछुट्टै प्रयासभन्दा तीन देशबीचको संयुक्त प्रयास अझ प्रभावकारी हुन सक्ने बताएका छन् ।

यस्ता प्राकृतिक विपत्तिबाट हुने क्षति कम गर्न नेपाल, चीन र भारतबीच आवश्यक समन्वय र सहकार्यबारे सबैले गम्भीरतापूर्वक सोच्नुपर्ने उनको भनाइ छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै