• २०८३ भदौ १० बुधबार

भोटेकोशी बाढी: सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न रास्वपाको सरकारलाई आग्रह

भोटेकोशी बाढी: सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न रास्वपाको सरकारलाई आग्रह

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा र नुवाकोटका तटीय क्षेत्रमा पुगेको क्षति तथा यसको प्रभाव मुग्लिन हुँदै चितवनसम्म पर्न सक्ने चेतावनीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यले विज्ञप्ति जारी गर्दै त्रिशूली नदी र यससँग जोडिएका सम्पूर्ण तटीय क्षेत्र अहिले उच्च जोखिममा रहेकाले सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि सरकार, स्थानीय प्रशासन र आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् । 

बाढी पूर्वानुमान शाखाले दिएको प्राविधिक सुझावलाई तत्काल कार्यान्वयन गर्दै विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्रलाई उच्च सतर्कताका साथ परिचालन गर्न नेपाल सरकारको ध्यानाकर्षण गराइएको छ। जोखिमयुक्त तटीय बस्तीका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न राज्यले उच्च प्राथमिकता दिनुपर्ने रास्वपाको भनाइ छ ।

रास्वपाले नदी किनार तथा जोखिमयुक्त तल्लो तटीय क्षेत्रमा बसोवास गर्ने नागरिकलाई संयमता अपनाउँदै तत्काल सुरक्षित तथा अग्लो स्थानमा जान आग्रह गरेको छ। अवस्था सामान्य नभएसम्म अत्यावश्यक कामबाहेक नदी तटीय सडकमा कुनै पनि प्रकारको यात्रा नगर्न पनि पार्टीले अनुरोध गरेको छ ।

आपतकालीन अवस्था सिर्जना भएमा नेपाल प्रहरीको निःशुल्क फोन नम्बर १०० तथा आपतकालीन नम्बर १२३४ मा तत्काल सम्पर्क गर्न रास्वपाले आग्रह गरेको छ ।

यसैगरी जोखिममा परेका नागरिकको सुरक्षित उद्धार तथा पूर्वतयारीका काममा स्थानीय प्रशासनसँग प्रभावकारी समन्वय गरी सक्रिय रूपमा परिचालन हुन पार्टीका सम्पूर्ण सदस्यलाई निर्देशन दिइएको छ ।

महामन्त्री आचार्यले विपद्को समयमा नागरिकको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै सम्बन्धित सबै निकायलाई समन्वय र सक्रियताका साथ काम गर्न आग्रह गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै