• २०८३ भदौ १० बुधबार

भोटेकोशी बाढी: त्रिशूली तटीय क्षेत्र खाली गर्न आग्रह

भोटेकोशी बाढी: त्रिशूली तटीय क्षेत्र खाली गर्न आग्रह

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको ठूलो बाढी धादिङको गल्छी आसपास पुगेको छ । अबको केही घण्टामा बाढी मुग्लिन पार गर्ने क्रममा रहेकाले त्रिशूली नदी आसपासका बस्ती तथा बजार क्षेत्र खाली गरी सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।

जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले पृथ्वी राजमार्ग, मुग्लिन–नारायणघाट सडक तथा त्रिशूली नदीको छेउछाउमा रहेका बस्ती र बजार क्षेत्रमा उच्च जोखिम रहेको जनाएको छ । महाशाखाले स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।

चीनको स्वशासित क्षेत्र तिब्बततर्फबाट भोटेकोशी नदीमा ठूलो बाढी प्रवेश गरेपछि नदीको जलसतह तीव्र रूपमा बढेको हो । बाढी तल्लो तटीय क्षेत्रमा समेत फैलिन सक्ने भएकाले नदी आसपासका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।

यसअघि गृहमन्त्री सुदन गुरुङले अर्को सूचना जारी नभएसम्म रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोटका नदी तटीय क्षेत्रमा बसोवास गर्ने परिवारलाई सुरक्षित स्थानमा रहन आग्रह गरेका छन् । भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्र हुँदै मुग्लिनसम्मको भूभाग उच्च जोखिममा रहेको जनाइएको छ ।

गृहमन्त्री गुरुङले पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडक तथा मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न र आवतजावत पूर्ण रूपमा रोक्न आग्रह गरेका छन् । खोज तथा उद्धार आवश्यक परेमा वा कुनै सहायता आवश्यक भएमा निःशुल्क फोन नम्बर १२३४ मा तत्काल सम्पर्क गर्न अनुरोध गरिएको छ ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै त्रिशूली नदी तटीय क्षेत्रका बासिन्दालाई घर तथा पसल खाली गरी सुरक्षित स्थानमा जान, नदी किनारमा नजान र प्रशासनको निर्देशन पालना गर्न आग्रह गरिएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै