काठमाडौँ । नेपाली कांग्रेसले महिला उद्यमशीलता सम्मेलन २०८३ आयोजना गर्ने भएको छ ।
भदौ ११ गते सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा हुने सम्मेलनको उद्देश्य महिला आर्थिक सशक्तीकरण, उद्यमशीलता प्रवद्र्धन तथा आर्थिक रूपान्तरणमा महिला उद्यमीको भूमिका बढाउनु रहेको बताइएको छ ।
एकदिने सम्मेलनमा ८० भन्दा बढी महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी, तीन विषयगत छलफल, उद्यमशील यात्राका अनुभव आदानप्रदान तथा लगानी र वित्तीय पहुँचसम्बन्धी जानकारी केन्द्र सञ्चालन गरिनेछ ।
सम्मेलनमा व्यवसाय, वित्त, प्रविधि, लगानी, पर्यटन, सूचना प्रविधि तथा निजी क्षेत्रका प्रतिनिधिको सहभागिता रहनेछ । बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म हुने सम्मेलनमा १० हजारभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ ।
सम्मेलनको समापनमा महिला उद्यमशीलतासम्बन्धी सुझाव, प्रतिबद्धता र आगामी कार्यदिशा समेटिएको ‘सानेपा घोषणा’ सार्वजनिक गरिने आयोजकले जनाएको छ ।









