• २०८३ भदौ ६ शनिबार

काँग्रेसले प्रदीप गिरिको स्मृतिमा फेलोसिप र न्याय सहायता कार्यक्रम सञ्चालन गर्ने

काँग्रेसले प्रदीप गिरिको स्मृतिमा फेलोसिप र न्याय सहायता कार्यक्रम सञ्चालन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले दिवंगत नेता प्रदीप गिरिको स्मृतिमा चारवटा फेलोसिपसहित न्याय सहायता कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

प्रदीप गिरीको चौथो स्मृति दिवसका अवसरमा आयोजित ‘भावना र संघर्षमा प्रदीप गिरिको सम्झना’ कार्यक्रममा सभापति गगन थापाले गिरिको विचार र योगदानलाई संस्थागत गर्न चारवटा विषयमा फेलोसिप सञ्चालन गरिने जानकारी दिएका हुन् । 

फेलोसिपका विषयमा नेपाली राजनीति, गणतन्त्र तथा संघीयता; समावेशिता तथा सामाजिक न्याय; साहित्य, दर्शन तथा विचारको इतिहास; र युवा नेतृत्व, नागरिक शिक्षा तथा लोकतान्त्रिक नवप्रवर्तन रहेका छन् । यससँगै गिरिको व्यक्तित्व र योगदानसँग सम्बन्धित तीनवटा विशेष विषयमा समेत अध्ययन तथा अनुसन्धान गरिने भएको छ । ती विषयमा ‘प्रदीप गिरि र मधेश’, ‘प्रदीप गिरी राजनीति भन्दा पर’ तथा ‘प्रदीप र प्रेम’ रहेका छन् ।

‘प्रदीप गिरि र मधेश’ अन्तर्गत मधेशको अधिकार, पहिचान र राजनीतिप्रति गिरिको दृष्टिकोणबारे अध्ययन गरिनेछ । ‘प्रदीप गिरि राजनीति भन्दा पर’ अन्तर्गत उनको दार्शनिक, सांस्कृतिक तथा साहित्यिक व्यक्तित्वबारे अनुसन्धान गरिनेछ । त्यस्तै, ‘प्रदीप र प्रेम’ अन्तर्गत उनको अन्तरंग जीवन, प्रेम, बस्तीपुर, बनारस तथा व्यक्तिगत जीवनसँग जोडिएका पक्षको अध्ययन गरिने थापाले बताए । फेलोसिप प्राप्त गर्ने प्रत्येक व्यक्तिले वार्षिक पारिश्रमिकसहित नेपाली कांग्रेस र प्रदीप गिरि इन्स्टिच्युटका अभिलेखमा पहुँच, सम्पादकीय मार्गदर्शन तथा आफ्नो अनुसन्धान प्रकाशित गर्ने अवसर पाउनेछन् । फेलोसिपको अन्तिम उपलब्धिका रूपमा अनुसन्धानकर्ताले तयार पारेको पाण्डुलिपिलाई लिइनेछ ।

यस बर्षको फेलोसिप प्रदिप गिरीको जन्मदिनको दिन कार्तिक २४ गतेदेखि खुला हुने बताइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै