काठमाडौँ । इङ्ल्यान्डले पाकिस्तानलाई पहिलो टेस्टमा इनिङ्स र १०३ रनले पराजित गर्दै तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।
इङ्ल्यान्डले पाकिस्तानलाई दोस्रो इनिङ्समा १३५ रनमै समेटेपछि खेल तेस्रो दिनमै सकिएको हो । पहिलो इनिङ्समा पाकिस्तान १७१ रनमा अलआउट भएपछि इङ्ल्यान्डले ४०९ रन बनाउँदै २३८ रनको विशाल अग्रता लिएको थियो ।
पाकिस्तानको दोस्रो इनिङ्समा मोहम्मद रिजवानले सर्वाधिक ४१ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । इङ्ल्यान्डका ओली रोबिन्सनले तीन तथा जोस टङ र जोफ्रा आर्चरले समान तीन विकेट लिए । रोबिन्सनले पहिलो इनिङ्समा पाँच विकेटसहित खेलमा कुल आठ विकेट लिए । जोस टङले पनि कुल आठ विकेट लिए । उत्कृष्ट प्रदर्शन गरेका रोबिन्सन खेलका उत्कृष्ट खेलाडी घोषित भए ।
यसअघि इङ्ल्यान्डका ह्यारी ब्रुकले ९१, जोर्डन कक्सले ७३, जो रुटले ६६ र डेन लरेन्सले ५१ रन बनाएपछि इङ्ल्यान्डले बलियो योगफल खडा गरेको थियो ।
अब सिरिजको दोस्रो खेल अगस्त २७ देखि लर्ड्समा हुने तालिका छ ।









