• २०८३ भदौ ३ बुधबार

श्रीलंकामा बिरामीको मूत्रथैलीबाट ३.१ किलोको पथरी निकालियो

श्रीलंकामा बिरामीको मूत्रथैलीबाट ३.१ किलोको पथरी निकालियो

काठमाडौँ । श्रीलंकाका चिकित्सकहरूले एक बिरामीको मूत्रथैलीबाट ३.१ किलोग्राम तौलको पथरी (ढुंगा) शल्यक्रियामार्फत निकालेका छन् । चिकित्सकका अनुसार यो अहिलेसम्मको सबैभन्दा ठूलो मूत्रथैलीको पथरी हुन सक्नेछ ।

श्रीलंकाको पूर्वी भागमा रहेको त्रिन्कोमालीस्थित अस्पतालमा गत साता ५५ वर्षीय पुरुषको शल्यक्रिया गरिएको हो । उनलाई मस्तिष्कघात भएपछि अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनलाई पिसाब गर्न कठिनाइ भइरहेको चिकित्सकहरूले पत्ता लगाएका थिए ।

जाँच गर्दा उनको मूत्रथैलीमा ठूलो पथरी रहेको भेटिएको थियो । शल्यक्रियामार्फत निकालिएको पथरी नवजात शिशुको तौलजति थियो भने यसको आकार अस्ट्रिचको अण्डाजस्तै रहेको चिकित्सकहरूले बताएका छन् । पथरी करिब १७ सेन्टिमिटर लामो थियो । शल्यक्रियाको नेतृत्व गरेका चिकित्सक बालाकृष्णनले उपलब्ध अभिलेखअनुसार यो अहिलेसम्म भेटिएको र शल्यक्रियामार्फत निकालिएको सबैभन्दा ठूलो मूत्रथैलीको पथरी भएको बताएका छन् । बिरामीको स्वास्थ्य अवस्था निकै राम्रो रहेको पनि उनले जानकारी दिएका छन् ।

बिरामी अझै अस्पतालमै उपचाररत छन् । चिकित्सक बालाकृष्णनका अनुसार उक्त पथरी बिरामीको मूत्रथैलीमा करिब पाँचदेखि १० वर्षसम्म रहेको हुन सक्ने अनुमान गरिएको छ । मूत्रमा रहेका खनिज पदार्थ जमेर ठोस ढुंगाजस्तो बनेपछि मूत्रथैलीमा पथरी बन्ने गर्छ । मूत्रथैली पूर्ण रूपमा खाली नहुँदा बाक्लो पिसाब बाँकी रहँदा यस्तो समस्या हुने गर्छ ।

सानो पथरी आफैँ बाहिर निस्कन सक्छ । तर एक सेन्टिमिटरभन्दा ठूलो पथरीले पिसाबको प्रवाहमा अवरोध पुर्‍याउन सक्ने भएकाले उपचार आवश्यक पर्न सक्छ । चार सेन्टिमिटरभन्दा ठूलो पथरीलाई ठूलो पथरी मानिन्छ । गिनिज विश्व कीर्तिमानका अनुसार सन् २००३ मा ब्राजिलका एक बिरामीको मूत्रथैलीबाट १.९ किलोग्राम तौल र १७.९ सेन्टिमिटर लामो पथरी निकालिएको थियो । श्रीलंकामा निकालिएको नयाँ पथरी त्यसको तुलनामा करिब १.२ किलोग्राम बढी तौलको रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै