काठमाडौँ । चीनले पहिलोपटक रकेटको पहिलो भागलाई उडानपछि जमिनमा सफलतापूर्वक फिर्ता उतारेको छ ।
चीनको सरकारी सञ्चारमाध्यमले बुधबार यसबारे जानकारी दिएको हो । चीनले आफ्नो अन्तरिक्ष कार्यक्रमलाई थप अघि बढाउन पुनः प्रयोग गर्न मिल्ने रकेटको प्रविधि विकास गरिरहेको छ ।
जमिनमा रकेटको पहिलो भाग फिर्ता उतार्नु चीनको पहिलो सफलता मानिएको छ । यसअघि गत जुलाईमा समुद्रमा बनाइएको मञ्चमा रकेटको पहिलो भाग सफलतापूर्वक फिर्ता ल्याइएको थियो । चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार बुधबार बिहान पुनः प्रयोग गर्न मिल्ने झुके- ३ रकेट प्रक्षेपण गरिएको थियो । उडानपछि रकेटको पहिलो भागलाई सफलतापूर्वक जमिनमा फिर्ता उतारिएको हो ।
अमेरिकी कम्पनी स्पेसएक्स र ब्लु ओरिजिनले सन् २०१५ देखि रकेटका भागलाई उडानपछि फिर्ता उतार्दै आएका छन् । यसरी फिर्ता ल्याइएका भागलाई पुनः प्रयोग गर्दा उपग्रह तथा अन्य सामग्री अन्तरिक्षमा पठाउने लागत घटाउन सहयोग हुने हुनाले पुन: प्रयोग गर्न मिल्ने रकेट बनाइएको छ ।
सिन्ह्वाका अनुसार बुधबारको परीक्षणमा चीनले पहिलोपटक खुल्ने प्रकारका अवतरण खुट्टा प्रयोग गरेको थियो । चीनले यसलाई पुनः प्रयोग गर्न मिल्ने रकेट प्रविधिको विकासमा महत्वपूर्ण सफलता भनेको छ ।
गत जुलाई १० मा लङ मार्च–१० बी रकेटको पहिलो भाग उडानपछि दोस्रो भागबाट अलग भएको थियो । त्यसपछि उक्त भाग समुद्रमा बनाइएको मञ्चमा फिर्ता आएको थियो । त्यसबेला जालको माध्यमबाट रकेटको भागलाई समातेर सुरक्षित रूपमा फिर्ता ल्याइएको थियो ।त्यसको भोलिपल्ट जुलाई ११ मा जापानले पनि पुनः प्रयोग गर्न मिल्ने प्रायोगिक रकेटको पहिलो परीक्षण उडान गरेको थियो । उक्त रकेट उडानपछि सुरक्षित रूपमा जमिनमा फिर्ता अवतरण गर्न सफल भएको थियो ।
चीन र जापान दुवैले रकेट पुनः प्रयोग गर्न सकिने प्रविधिको विकासमा जोड दिइरहेका छन् । यसको मुख्य उद्देश्य अन्तरिक्षमा रकेट प्रक्षेपणको लागत घटाउनु र विश्वको अन्तरिक्ष बजारमा आफ्नो प्रतिस्पर्धात्मक क्षमता बढाउनु हो ।









