• २०८३ भदौ ३ बुधबार

आज विश्व मानवीय दिवस मनाइदै

आज विश्व मानवीय दिवस मनाइदै

काठमाडौँ । आज विश्व मानवीय दिवस विश्वभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ । यस वर्षको दिवसले द्वन्द्वग्रस्त क्षेत्रमा ज्यान गुमाएका सहायता कार्यकर्ताको स्मरण गर्दै स्वास्थ्यकर्मी तथा मानवीय सहायता क्षेत्रमा कार्यरत जनशक्तिको तत्काल सुरक्षा सुनिश्चित गर्न माग गरेको छ ।

यस वर्षको अभियान ‘मानवताका लागि कार्य गरौँ’ भन्ने नारामा केन्द्रित छ । अभियानले ‘चिन्ताको समय सकिएको छ, अब परिणाम देखाउने समय हो’ भन्ने सन्देश अघि सारेको छ ।

यस वर्ष स्वास्थ्य संस्थामाथि हुने बढ्दो आक्रमणलाई प्रमुख विषय बनाइएको छ । द्वन्द्वग्रस्त क्षेत्रमा अस्पताल, स्वास्थ्य केन्द्र, एम्बुलेन्स तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमणले स्वास्थ्य सेवा प्रभावित हुनुका साथै सर्वसाधारणको जीवनसमेत जोखिममा परेको भन्दै तत्काल सुरक्षा सुनिश्चित गर्न आग्रह गरिएको छ ।

विश्व मानवीय दिवसले स्थानीय तथा राष्ट्रिय स्तरमा मानवीय सहायता प्रदान गर्ने कार्यकर्ताको सुरक्षालाई समेत प्राथमिकतामा राखेको छ । मानवीय सहायता क्षेत्रमा हुने हिंसा तथा सुरक्षा घटनामध्ये करिब ९६ प्रतिशत घटनाको भार स्थानीय तथा राष्ट्रिय सहायता कार्यकर्ताले व्यहोर्नुपरेको तथ्यलाई यस वर्ष विशेष रूपमा उजागर गरिएको छ ।

अन्तर्राष्ट्रिय सहायता संस्थाका प्रतिनिधिभन्दा द्वन्द्व प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा काम गर्ने स्थानीय तथा राष्ट्रिय कर्मचारी बढी जोखिममा रहने भएकाले उनीहरूको सुरक्षा र अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ ।

यस वर्षको अभियानले विश्वका नेताहरू तथा द्वन्द्वमा संलग्न सबै पक्षलाई अन्तर्राष्ट्रिय मानवीय कानुनको सम्मान गर्न आग्रह गरेको छ ।

मानवीय सहायता अभियान, सहायता कार्यकर्ता तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमणमा दोषीलाई उन्मुक्ति दिने अवस्था अन्त्य गर्न र त्यस्ता घटनाका लागि जिम्मेवार पक्षलाई जवाफदेही बनाउन विश्व समुदायसँग आह्वान गरिएको छ।

संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष अगस्ट १९ लाई विश्व मानवीय दिवसका रूपमा मनाउने निर्णय गरेको हो । सन् २००३ अगस्ट १९ मा इराकको राजधानी बगदादस्थित नहर होटलमा भएको बम विस्फोटमा २२ जना मानवीय सहायता कार्यकर्ताको मृत्यु भएको थियो । उक्त घटनामा संयुक्त राष्ट्रसंघका तत्कालीन विशेष प्रतिनिधि सर्जियो भिएरा दे मेलोसहित मानवीय सहायता क्षेत्रमा कार्यरत व्यक्तिको मृत्यु भएको थियो । सोही घटनाको स्मरण तथा विश्वभर मानवीय सहायता क्षेत्रमा काम गर्ने व्यक्तिको योगदानलाई सम्मान गर्न विश्व मानवीय दिवस मनाउन थालिएको हो ।

विश्व मानवीय दिवसको विश्वव्यापी नेतृत्व संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालयले गर्दै आएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै